उर्लाबारी आगलागीका थप १० घाइतेलाई पनि काठमाडौ लगियो

सेयर गर्नुहोस्

विराटनगर, २८ कार्तिक
मोरङको उर्लाबारीमा लक्ष्मीपुजाको दिन भएको आगलागीमा घाइते भएका थप १० जनालाई काठमाडौ लगिएको छ ।

झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालले उपचार गराइरहेका १० जना जलनका बिरामीलाई आज थप उपचार गर्न काठमाडौं लगिएको हो ।

उर्लाबारीमा भएको आगोलागीमा परी घाइते भएर अस्पतालमा उपचार गराइरहेका उर्लाबारी- ७ का सुमन सेन्दाङ, लालबहादुर लिम्बू, कविराज दाहाल, तपन पण्डित, विक्रम साह, प्रकाश लिम्बू, रुकुमबहादुर कार्की, नवीन थापा, हेमकुमार दाहाल र करण संग्रौलालाई आज झापाको भद्रपुरबाट काठमाडौ लगिएको हो । उनीहरुलाई कोशी प्रदेश सरकारको समन्वयमा काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा थप उपचारको लागि लगिएको हो ।

बिरामीलाई काठमाडौ लैजाने तयारी भएपनी सुरुमा बीएण्डसीले उपचार गर्दा लागेको खर्च जम्मा गर्न भन्दै बिरामी निकाल्न अवरोध गरेको थियो । अस्पतालले घाइतेलाई निकाल्न अवरोध गरेपछि  मुख्यमन्त्री केदार कार्की  आफैं बीएन्डसी अस्पताल पुगेका थिए। उनले घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि दशै जनालाई काठमाडौं लाने बताए ।

अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले उपचाररत बिरामीको उपचार खर्च बुझाएरमात्र लैजान भनेको भन्दै बिएण्ड्सीका कर्मचारीले अबरोध गरेपछि मुख्यमन्त्री कार्की र प्रसाईंबीच फोनमा विवादसमेत भएको थियो । प्रसाईंले ‘सबै खर्च बुझेर मात्र डिस्चार्ज गर्ने’ भनेपछि मुख्यमन्त्री कार्कीले ‘बिरामीको ज्यान दायाँबायाँ भए प्रहरी लगाएर थुनाइदिने’ चेतावनी दिएका थिए ।

मुख्यमन्त्री कार्कीले उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने बताए भन्दै रकम निकासा गर्न प्रक्रियागत कारणले केही समय लाग्नसक्ने बताएका थिए । संकटको बेला पैसाभन्दा पनि मानवीय चरित्र र सहयोगी भावना देखाउन प्रसाईंलाई सम्झाएपछि घाइते निकालेको कार्कीले बताए ।

लक्ष्मीपूजाको राति मोरङको उर्लाबारी- ७ स्थित दीपक कार्कीको घरमा अवस्थित सुन पसलमा आगलागी हुँदा प्रहरीसहित २८ जना जलेर घाइते भएका थिए । तीमध्ये विराटनगरका विभिन्न अस्पतालमा उपचाररत १४ जनालाई बर्न अस्पताल कीर्तिपुर पठाइएको थियो ।‌

प्रदेश सरकारको समन्वयमा थप उपचार गर्न उनीहरुलाई सेनाको स्काई ट्रकले विराटनगर विमानस्थलबाट काठमाडौं लगेको थियो ।