झापा, २५ कार्तिक
दुधकाे उत्पादन बढेर बिक्न छोडेपछि कोशी प्रदेश डेरी उद्योग संघले दुधको बिक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको छ । दुधको मूल्यसँगै दही, पनिर र नौनी घ्यूको बिक्री मूल्य पनि घटाउने संघले निर्णय गरेको हो ।
कोशी प्रदेशका ठूला विभिन्न ८ वटा डेरी उद्योगहरु आबद्ध संघको बैठक कार्तिक २३ गते विराटनगरमा बसेको थियो । बैठकले किसानले उत्पादन गरेको दुधको बजार सुनिश्चित गर्न भन्दै दुधको मूल्य घटाएको हो । प्रदेशमा प्रतिव्यक्ति दुध उपलब्धता वार्षिक ९२ लिटर रहेको छ भने माग ७१ लिटर मात्रै छ । प्रदेशमा माग र आवश्यकताभन्दा धेरै दूध उत्पादन भएपछि पछिल्लो समयमा किसान र उद्योगी मारमा छन् ।
अहिले दुधको उत्पादन बढी भएको समयमा उपभोक्तालाईसमेत राहत दिने उद्देश्यले कात्तिक २६ गतेदेखि लागू हुने गरी मूल्य घटाएको संघले जनाएको छ । घटाएको मूल्य अनुसार अब उपभोक्ताले स्ट्याण्डर दुध आधा लिटरको पाउच ४५ रुपैयाँमा पाउनेछन् । यसअघि यस्तो पाउचलाई ५० रुपैयाँ पर्दथ्यो ।
संघले फ्याट मिल्क आधा लिटरको ३५, दही २०० मिलिलिटरको ३५, आधा लिटरको दही ८०, एक लिटर दहीको १५०, पनिरको प्रतिकेजी ७८० र नौनी घ्यू प्रतिकेजी ८०० रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ । आइतबारदेखि नयाँ मूल्य अनुसार वस्तु बिक्री गर्ने रितिका डेरी उद्योग प्रालिका सञ्चालक योगेन्द्र चिमरियाले जानकारी दिए ।
झापाको बिर्तामोडमा रहेको एनएमसी डेरी उद्योगका सञ्चालक रामचन्द्र उप्रेतीको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय कतिपय डेरीहरुले भने मंसिर १ गतेदेखि मात्र लागू गर्ने बताएका छन् । एनएमसी डेरी उद्योग, कामधेनु दुग्ध विकास सहकारी संस्था लि, रितिका डेरी उद्योग, सूर्योदय मिल्क एण्ड वेभरेज इ.प्रा.लि., गोरस डेरी प्रा.लि., जीवन विकास डेरी, मदानी मिल्क हाउस र शिवम् डेरी एण्ड फुड इन्डष्ट्रिज प्रा.लि.ले सामूहिक रुपमा बैठक बसेर मूल्य घटाउने निर्णय गरेका हुन् ।
कोशी प्रदेशमा उत्पादन बढेर बजारमा दुध बिक्री नहुँदा उत्पादक किसानहरु ‘मिल्क होलिडे’को मारमा छन् । अघिल्लो आर्थिक वर्षको तथ्यांक अनुसार कोशी प्रदेशमा दुध दिने गाईको संख्या ५ लाख १० हजार ३२ रहेको छ भने भैंसीको संख्या २ लाख ८७ हजार ९६८ रहेको छ । ती गाई र भैंसीबाट प्रदेशमा दैनिक ५ लाख २५ हजार १५५ लिटर दुध उत्पादन हुन्छ ।
दुधको उत्पादन बढेपछि दूध व्यवसायीहरुले नयाँ बजारको रुपमा बंगलादेश निर्यातको सम्भावना खोजी गरिरहेका छन् । तर, अहिलेसम्म बंगलादेश निर्यातको टुंगो लाग्न भने नसकेको बताइएको छ ।
गएको फागुन महिनासम्म उत्पादित दुध जेनतेन बजारमा खपत भएको र त्यसपछि बजारको मागभन्दा बढी दूध बजारमा आउनेक्रम अहिले निरन्तर छ । फागुन चैत महिनासम्म विराटनगरको सूर्योदय मिल्क एण्ड बेभरेज इण्डष्ट्रिजले बढी भएको दुधलाई पाउडरमा रुपान्तरण गर्दै आएकोमा अहिले तीन उद्योगले पाउडर बनाइरहेका छन् ।
कोशी प्रदेशमा तीन पाउडर प्लान्ट सञ्चालन भएपनि किसानले उत्पादन गरेको सबै दुध खपत नहुने अवस्था आएको डेरी उद्योगका सञ्चालकहरुले जानकारी दिए । प्रदेशमा अहिलेको सिजनमा उत्पादन भएको दूधमध्ये १ लाख ५० हजार लिटर औपचारिक क्षेत्रबाट बजारमा आउने गरेकोमा अहिले औपचारिक क्षेत्रमा झण्डै २ लाख ५० हजार लिटरभन्दा बढी दुध संकलन भइरहेको डेरी उद्योगहरु बताउँछन् ।
कोशी प्रदेशमा दुध उत्पादन वृद्धि गर्न प्रदेश सरकारले प्रतिलिटर २ रुपैयाँको दरले नगद अनुदान दिने नीति लिएका कारण पनि उत्पादन बढेको व्यवसायीहरुले बताएका छन् ।