झापा, २५ असोज
झापाको कमल गाउँपालिकामा आन्दोलनरत स्थानीय तहका कर्मचारीले रक्तदान गरेका छन् । असोज १७ गतेदेखि निरन्तर पेन डाउनमा उत्रिएका कर्मचारीले आन्दोलनकै कार्यक्रम अन्तर्गत रक्तदान गरेका हुन् । कर्मचारीहरुले गाउँपालिकामा धर्ना बसेर सेवा प्रवाह बन्द गरेका छन् ।
गाउँपालिका संघर्ष समितिकी सदस्य रिता सुवेदीका अनुसार आन्दोलनलाई थप रचनात्मक बनाउनका लागि रक्तदान कार्यक्रम गरिएको हो । उनीहरूले आन्दोलनकै कार्यक्रम अनुसार रक्तदान गरेका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, लेखा अधिकृत सिर्जना राई सहितका कर्मचारीहरुले रक्तदान गरेका थिए । रेडक्रस दमक उपशाखाको प्राविधिक सहयोगमा भएको रक्तदानमा कमल रेडक्रसले समन्वय गरेको थियो । स्थानीय तहका कर्मचारीहरुले तीनै तहमा समान वृतिविकास , अन्तर प्रदेश सरुवा,विना सहमति चक्रीय सरुवा प्रणाली , समायोजनका कर्मचारीको उचित व्यवस्थापन , उमेरहद र सेवा अबधि गणना , अस्थायी र करार कर्मचारीको व्यवस्थापन , सेवा सुरक्षाको सुनिश्चितता लगायतका मुद्दालाई आन्दोलनको बटम लाइन बनाएका छन् ।
यस्तै संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा राखिनुपर्ने,संघ प्रदेश र स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेटिनुपर्ने,संघीय कानुन बमोजिम समायोजन भएका,प्रदेश लोकसेवा आयोगबाट सिफारिस भइ नियुक्ति भएका र साविक स्थानीय निकाय,घरेलु लगायतका कर्मचारीहरुलाई ७५३ वटै स्थानीय तहमा विना सहमती स्वचालित,अनुमानयोग्य,चक्रीय प्रणाली अनुसार हरेक दुई दुई बर्षमा प्रदेशले अन्तर प्रदेश सरुवा हुनुपर्ने बुँदा समेटिनुपर्नै माग छ ।
यस्तै, तीन वटै तहमा तहगत प्रणाली लागू गरिनुपर्ने,स्थानीय तहका कर्मचारीहरुलाई सेवा प्रवेश गरे लगतै सबै पदमा अनिवार्य सेवा प्रवेश र सेवाकालीन तालिमको व्यवस्था हुनुपर्ने ऐनमै समावेश हुनुपर्ने माग राखिएको छ ।
यस्तै स्थानीय कर्मचारी हितका लागि एक कल्याणकारी कोषको अनिवार्य व्यवस्था गरिनुपर्ने,तीनै तहका कर्मचारीहरुलाई वृत्ति विकासको समान अवसर हुनुपर्ने बुँदा समेत ऐनमा समेटिनुपर्ने लगायतका २० शुत्रीय माग राखेर उनीहरु आन्दोलनमा होमिएका छन् ।