दमक, २० असाेज
पहिलो कोशी प्रदेशस्तरीय अन्तर हस्पिटल फुटसल प्रतियोगिताको उपाधि दमकको निम्स नेशनल हस्पिटलले जितेको छ । दमककाे
विस्ट फुटसल मैदानमा शनिबार भएको फाइनल खेलमा विर्तासिटी हस्पिटल विर्तामोडलाई हराउँदै निम्स नेशनल हस्पिटलले उपाधि कब्जा गरेको हो । उपाधिसँगै निम्सले नगद ३० हजार रुपैयाँ राशी , शील्ड र ट्रफी हात पारेको छ भने उपविजेता विर्तासिटीले नगद २० हजार रुपैयाँमा चित्त बुझाएको छ ।
त्यस्तै उत्कृष्ट खेलाडीको उपाधि विर्तासिटीका पिताम्बर निरौला , सर्वाधिक गोलकर्ताको उपाधि निम्सका निरज बोहोरा र उत्कृष्ट गोलरक्षकको उपाधि विर्तासिटीका असिम भट्टराईले जितेका छन ।
दमकस्थित सीटिसि फिजियोथेरापी , विकास एडभरटाईजीङ्ग एजेन्सी र रोपाना वेल्नेस सेन्टरको संयुक्त आयोजनामा भएको फुटसल प्रतियोगिताको फाइनल खेलमा दमक नगर खेलकुद बिकास समितिका अध्यक्ष भिमराज चौंलागाइँको प्रमुख आतिथ्य रहेको थियो ।
विजेता तथा उपविजेता टिमलाई प्रमुख अतिथी चम्लागाइँ, आयोजक मध्येको विस्ट फैक्ट्रीका सञ्चालक विपिन सुवेदी, आयोजक समितिका संयोजक विनोद भट्टराईले पुरस्कार हस्तान्तरण गरेका थिए ।
प्रतियोगितामा कोशी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाबाट एक दर्जन टिमले भाग लिएका थिए । सो प्रतियोगिताको फाइनल खेल हुनुअघि पत्रकार टिम र आयोजक टिमबीच मैत्रीपूर्ण खेल भएको थियो । सो खेलमा आयोजकले पत्रकार टिममाथी जित हासिल गरेको थियो ।
अन्तर हस्पिटल फुटसलको उदघाटन यसअघि गत शनिबार दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँले गरेकी थिइन ।
आयोजक समितिका अध्यक्ष विनोद भट्टराईले हस्पिटललमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँगै अस्पतालहरुबीच सुमधुर सम्बन्ध स्थापित गर्न यो प्रतियोगिताले सघाउ पुरयाएको बताए ।
अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्य कर्मचारी तथा अस्पताल व्यवस्थापन र सञ्चालकहरु समेत प्रतियोगितामा खेलाडीका रुपमा सहभागी भएका थिए । प्रथम पुरस्कारको व्यवस्था जिके प्रिन्ट दमकले र द्धितीय पुरस्कार सौर्य दमक अस्पतालले सौजन्य गरेको जनाइएको छ ।
सेयर गर्नुहोस्
२० आश्विन २०८०, शनिबार २०:४०