गौरादह नगरपालिकाले स्थानीय पाठ्यक्रममा भएको त्रुटिलाई सच्याउने (भिडियो)

सेयर गर्नुहोस्

गौरादह, २६ भदौ
झापाको गौरादह नगरपालिकाले स्थानीय पाठ्यक्रममा पढाइ हुने पुस्तकमा भएको त्रुटि सच्याउने भएको छ । अब प्रकाशन हुन बाकीँ रहेका कक्षाका पुस्तकहरु थप परिमार्जन पछी मात्रै विद्यार्थीलाई वितरण गरिने भएको छ ।
अहिले कक्षा ४, ५ र ६ को पाठ्यपुस्तकमा भएको कमजोरीलाई अर्को वर्ष थप परिमार्जन गरिने नगर प्रमुख छत्रपति सुवेदीले जानकारी दिए । उनका अनुसार अब प्रकाशन हुन बाकीँ रहेका १,२, ३, ७ र ८ को पाठ्यपुस्तक भने थप अध्ययन पछी मात्रै प्रकाशन गरिने छ । कक्षा ८ को भने पाण्डुलिपीलाई परिमार्जन गरि यसै बर्षको मंसीर सम्ममा प्रकाशन गरिने उनले बताए । अन्य कक्षाका पुस्तकका हकमा भने थप छलफल अध्ययन र परामर्शमा मात्रै छपाइ गरिने छ । भदौ २४ गते बसेको नगर शिक्षा समितिको बैठकले स्थानीय पाठ्यक्रम परिमार्जन, सुझाव समिति गठन गरेको छ । नगर प्रमुख तथा शिक्षा समितिका अध्यक्ष सुवेदीको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत, शिक्षा महासंघका अध्यक्ष वा प्रतिनिधी, निजी विद्यालयका शिक्षक, सामुदायिक विद्यालयका शिक्षक र शिक्षिका र नगर शिक्षा अधिकारी रहने गरि समिति गठन गरिएको छ ।
सुवेदीका अनुसार केही जिवित व्यक्तिका परिचयलाई व्यक्ति परिचय भनेर उल्लेख गरिने छ । मृत्यु भएका हकमा भने जिवनी भनेरै प्रकाशन गरिने छ । केही समय यता स्थानीय पाठ्यक्रम अन्तर्गत प्रकाशित हाम्रो गौरादह पुस्तकमा भएको बिषय र शुद्धतामा निकै विवाद भएको थियो । नगरपालिकाले भने सबैका सुझावलाई लिएर अघि बढ्ने जनाएको छ ।