कमल गाउँपालिकाः ऐन विपरित निर्णय सच्याउन एमालेका जनप्रतिनिधीको माग

सेयर गर्नुहोस्

झापा, ३ भदौ
झापाको कमल गाउँपालिकामा वडा अध्यक्षलाई कार्यवहाक अध्यक्ष बनाएको बिषयमा विवाद बढ्दै गएको छ । अध्यक्ष हुकुमसिंह राईले वडा अध्यक्ष अशोक सुब्बालाई कार्यवहाक अध्यक्षको जिम्मेवारी तोकेपछी विवाद बढ्दै गएको हो ।
गाउँपालिकाको उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीलाई स्थानीय सरकार सञ्चालन ऐन अनुसार कार्यवहाक अध्यक्ष दिनुपर्ने माग एमालेबाट निर्वाचित कार्यपालिका सदस्यले गरेका छन् ।
नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्य तथा नगर सभा सदस्यले स्थानीय सरकार सञ्चालन ऐनमै अध्यक्ष अनुपस्थित हुँदा उपाध्यक्षलाई कार्यवहाक दिनुपर्ने कानुनी व्यवस्थाको गाउँपालिका अध्यक्षले उल्लंघन गरेको आरोप लगाएका छन् । कार्यपालिका सदस्य तथा ६ नम्बर वडाका अध्यक्ष नरेन्द्र भट्टराईले ऐनको व्यवस्था विपरित अध्यक्षको कदमले उपाध्यक्ष पदको समेत अपमान गरेको बताए । एमालेबाट निर्वाचित सबै जनप्रतिनिधीले अध्यक्षले कानुनी प्रावधान विपरित गरिएको यो कदमले सहमति सहकार्यको वातावरणमा समस्या आउने चेतावनी दिएका छन् ।
गाउँपालिकाकी उपाध्यक्ष प्रमिला नेउपाने तिवारीले कानुनमा भएको व्यवस्था विपरितको यो कदमको न्यायिक रुपमा निरुपण हुने प्रतिकृया दिएकी छिन् । गाउँपालिकामा सधै गइरहेकै छु, बिगतमा मैले कार्यवहाक अध्यक्ष भइ काम गरिसकेको अवस्थामा अध्यक्षले कानुन विपरितको काम गर्नुभयो, उनले भनिन्, अदालतले पक्कै पनि कानुन अनुसारको फैसला दिने छ । अध्यक्ष राईले वडा अध्यक्ष अशोक सुब्बालाई कार्यवाहक अध्यक्ष दिएर भ्रमणमा निस्केका हुन् । अध्यक्ष राई नेपाली कांग्रेसबाट निर्वाचित हुन भने उपाध्यक्ष सहित गाउँपालिकामा बहुमत एमालेबाट निर्वाचित छन् ।