दमक, ३१ साउन
दमक नगरपालिकाले पूर्वाधार सेवा उपयोग शुल्कका रुपमा ‘पटके कर’ भदौ १ गतेदेखि लागू गर्ने भएको छ । यस अघि विवादित बनेको यो कर फेरि लगाउन लागिएको हो । नगरप्रमुखमा निर्वाचित भएसँगै रामकुमार थापाले यो कर नलगाउने पहिलो भाषण गरेका थिए । तर अघिल्लो नगर सभाले खारेजी गरेको कर यस वर्ष देखि लगाउने भएको हो । यो कर वापत नगरपालिकाले बार्षिक २५ लाख रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरेको छ ।
नगरपालिकाको आर्थिक ऐनमा भएको व्यवस्था अनुसार ट्रिपरले पटकमा एक सय र बार्षिक १० हजार रुपैयाँ पूर्वाधार उपयोग गरे वापत बुझाउनुपर्ने छ । यसै गरि बस तथा ट्रकले वार्षिक ८ हजार र पटकको एक सय तिर्नुपर्ने छ । निजी विद्यालयका स्कूल बसले बर्षको ६ हजार र एक पटकको एक सय, ट्याक्टरले बर्षमा ५ हजार बुझाउनुपर्ने व्यवस्था ऐनमा छ । नगरपालिकाले निजी कर, जिपमा भने पटके कर नलिने नीति लिएको छ । यसैगरि दमक बाहिरका बासिन्दाले अटो चलाएमा बर्षको १ हजार ५ सय र दमकका बासिन्दाले एक हजार ३ सय बर्षमा बुझाउनुपर्ने छ । सिटी सफारी दमकका बासिन्दाले ८ सय बार्षिक र गैर दमकबासीले भने वर्षको एक हजार बुझाउनुपर्ने भएको छ ।
सेयर गर्नुहोस्
३१ श्रावण २०८०, बुधबार २०:३६