दमक, २८ साउन
दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्धेश्यीय सहकारी संस्थाकाे २९ औं साधारणसभा आजदेखि शुरु भएको छ । साधारणसभा विभिन्न सात वटा इकाईमार्फत आजदेखि शुरु भई भदौ ३ गतेसम्म चल्ने र १२ गते प्रमाणीकरण गरि साधारण सम्पन्न हुने संस्थाले जनाएको छ ।
जसअनुसार आज दमक सेवा कार्यालयको , २९ गते साउन उर्लावारी , ३० गते मिक्लाजुङ्ग, ३१ गते चुलाचुली र पथरी, ३२ गते बिर्तामोड, भदौ १ गते कन्काई ,२ गते गौरादह र कमल र ३ गते लेटाङ्ग र बेलवारी सेवा कार्यालयमा साधारणसभा हुने छन् । इकाई अन्तर्गत १२ वटा सेवा कार्यालयका १५ हजार २ सय ५८ जना शेयर सदस्यहरुले सहभागिता जनाउने छन् ।
संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईका अनुसार साधारणसभा अन्तर्गत भदौ ११ गत विविध कार्यक्रम गरि बार्षिकोत्सव मनाईने छ । बार्षिकोत्सवमा अघिल्ला वर्ष झै यसवर्ष पनि रक्तदान तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले बताए । साथै भदौ १२ गते रोयल पार्टी प्यालेसमा सम्मान,पुरस्कार वितरण तथा संस्थाको प्रतिवेदन उपर छलफल गरि प्रमाणीकरण गरिने कार्यक्रम रहेको छ ।
संस्थाको कार्ययोजना सार्वजनिक
संस्थाले पत्रकार सम्मेलनमार्फत संस्थाको बार्षिक गतिबिधि र आगामी कार्ययोजनाहरु समेत सार्वजनिक गरेको छ ।आज विहान सदाका बर्षझै संस्थाले पत्रकार सम्मेलन गरि संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले संस्थाले हालसम्मको गरेका बचत,ऋण तथा अन्य सामाजिक गतिविधिहरु प्रस्तुत गरेका थिए । उनले यो बर्ष सकेसम्म बाह्य कर्जा नलिने नीति लिएको समेत जानकारी दिए ।
उनले बाह्य कर्जाका कारण संस्थालाई पर्न सक्ने अप्ठ्यारोको महसुस यसपटकको आर्थिक मन्दीमा गरिएको बताउँदै गत आर्थिक बर्षमा १७ करोड ६० लाख रुपैयाँ बाह्यकर्जा घटाएको पनि उल्लेख गरे ।
उनले संस्थाका सदस्यहरुको लामो अवधिको बचतलाई प्राथमिकता दिइने, यस बर्षलाई पनि अघिल्लो बर्षझैं बचत बृद्धिको बर्षका रुपमा सञ्चालन गरिने, सामुदायिक बिद्यालय, टोल बिकास संस्था र अन्य गैह्रनाफामुलक संस्थाहरुलाई सदस्यता दिई बचतमा सहभागी गराइने, यस बर्षदेखि मेघा बचत योजना र मेची पेन्सन बचत योजना अघि सारिएको पनि उल्लेख गरिएको छ ।
सहकारी आवास २ र उर्लाबारीमा रहेको संस्थाका नामको जग्गामा सहकारी बजार निर्माणको योजना पनि संस्थाले ल्याएको अध्यक्ष भट्टराईले जानकारी दिए ।
३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी
संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले संस्थाको वित्तीय आँकडा प्रस्तुत गर्दै यो बर्ष संस्थाले १० करोड नाफा कमाउन सफल भएको जानकारी दिए । उनले आगामी बर्ष १६ करोड नाफा कमाउने लक्ष्य राखेको पनि जानकारी दिए । त्यस्तै २ हजार ७ सय ५० जना सदस्य संख्या थप गर्ने लक्ष्य राखिएको कार्यकारी प्रमुख थापाले जानकारी दिए । संस्थामा अघिल्लो बर्ष ३५ करोड ५५ लाख ७८ हजार रुपैयाँ शेयर पुँजी रहेकोमा १ करोड ९४ लाख ५ हजार रुपैयाँ गत आर्थिक बर्षमा थप भएको जानकारी दिइयो ।
संस्थाको अघिल्लो बर्ष २ अर्ब ८९ करोड ६८ लाख रुपैयाँ कर्जा लगानी रहेकोमा १ करोड ९० लाख रुपैयाँ थप भई हाल ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी रहेको र ९९ प्रतिशत असल कर्जा रहेको संस्थाको दाबी छ । ४३ करोड ९५ लाख रुपैयाँ ब्याज आम्दानी गर्न सफल भएको यो संस्थाले गत आर्थिक बर्ष २०७९-०८० मा विभिन्न शीर्षकमा सरकारलाई २ करोड भन्दा बढी कर तिरेको पनि कार्यकारी प्रमुख बगालेले जानकारी दिए । संस्थाले गणेश बस्नेत सहकारी अभियान्ता पुरस्कारबाट राष्ट्रिय सहकारी बैँककी चित्राकुमार थाम्सुहाङ, गणेश बस्नेत स्मृति पत्रकारीता पुरस्कारबाट चिना थापा र मेची सहकारी पत्रकारीता पुरस्कारबाट राजु पाेख्रेललाइ पुरस्कृत गर्ने निर्णय गरेकाे छ ।