ब्याज बृद्धिकाे विराेधमा दमकका व्यवसायीद्वारा आन्दोलनकाे घोषणा

सेयर गर्नुहोस्

दमक, फागुन १६
दमकका उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकको गलत मौद्रिक नीति र बैंकहरुले गरेको ब्याज बृद्धिको विरोधमा शसक्त आन्दोलनमा जाने घोषणा गरेका छन् । दमक उद्योग वाणिज्य संघले त्यस्तो आन्दोलनको नेतृत्व लिने संघद्धारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
संघका अध्यक्ष गोपाल गुरागाइँले बैंकहरुले ऋणको पुनसंरचना र पुर्नतालिकीकरणको माग मुख्य रहेको बताए । उनले विश्वव्यापी रुपमा आएको आर्थिक मन्दीका कारण व्यवसायीहरु पलायन हुने क्रम चलिरहेको भन्दै यस्तो अवस्था आउनुमा राज्यको नीतिनै दोषी भएको पनि आरोप लगाए ।
अध्यक्ष गुरागाइँले व्यवसायीहरुका मागको सम्बन्धित निकायले ७ दिन भित्र सुनुवाई नगरे जस्तोसुकै आन्दोलनमा जाने चेतावनी पनि दिए । अध्यक्ष गुरागाइँले भने,–‘घरबेटी र स्थानीय तहले समेत व्यवसायीहरुको संरक्षणका लागि कर तथा भाडामा समेत छुटको व्यवस्था गर्नुपर्र्छ ।’
पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष गोकूल श्रेष्ठले साना तथा मझौला व्यवसायीहरु पछिल्लो समय प्रताडित हुनु परिरहेको बताउँदै नेपाल उद्योग वाणिज्य महासंघले समेत राज्यको गलत नीति तथा रवैयाका विरुद्ध सशक्त आन्दोलन छेड्न नसकेको टिप्पणी गरे । उनले व्यवसायीहरुको संरक्षणमा राज्यपक्ष गम्भिर हुुनुपर्ने अवस्था रहेको बताए । महासंघको कमजोर भूमिकाका कारण निजी क्षेत्रले राज्यपक्षबाट न्याय पाउन नसकेको भन्दै महासंघको आगामी नेतृत्वका लागि दमकले समेत दाबी पेश गरेको श्रेष्ठले बताए ।
संघले ऋणको पुनसंरचना, पुर्नतालिकीकरणसंगै आंशिक धितो फुकुवा, बैंकको कोषमा लचकता र ऋण लिँदाको बखतको ब्याजदर कायम गर्नुपर्ने मागहरुलाई पनि सशक्त रुपमा अघि सारेको छ ।