झापा, पुस ७
झापाको भद्रपुरमा भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
फागुन अन्तिम साता हुने यो प्रतियोगीताको मिति भने अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि मिति तय हुने छ । आज भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष दिपेश ढकालका अनुसार प्रतियोगिताका विजेताले नगद १३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ७ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताका लागि मेची रंगशालाको स्तरोन्नति सुरु भइसकेको महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । अत्यन्त जीर्ण अवस्थामा रहेको झापाकै पुरानो र स्थायी सो रंगशालामा झार रोप्ने र माटोको लेभल मिलाउने काम भइरहेको छ । १८ वर्षअघि आयोजना भएको ‘त्रिभुवन मेमोरियल गोल्डकप’पछि फुटबलका ठूला र प्रतिष्ठित खेलहरु आयोजना हुन नसक्दा मेची रंगशालाको खेल मैदान र थप पूर्वाधारलाई व्यवस्थति गर्न सकिएको थिएन । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजना हुँदै आएको ‘झापा गोल्डकप’लाई यस वर्ष रोकेर मेची रंगशालामा ‘भद्रपुर झापा गोल्डकप’ आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबहरुसहित विदेशी टोलीको सहभागिता रहने वरिष्ठ उपाध्यक्ष तथा टिम व्यवस्थापन तथा छनोट उपसमिति संयोजक आदित्य पराजुलीले जानकारी दिए । प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ ।
खेल सञ्चालनका लागि भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षमा गोल्डकपका लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको नगरप्रमुख गणेश पोखरेलले जानकारी दिए । कुल १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ ।
प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फवार्ड र उत्कृष्ट प्रशिक्षकलाई २५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीलाई नगद १० हजार पुरस्कारको प्रदान गरिनेछ ।
सेयर गर्नुहोस्
७ पुष २०७९, बिहीबार १५:३४