सीमा क्षेत्रमा कमजाेर भयाे भारूकाे भाउ

सेयर गर्नुहोस्

झापा, माघ २२
शनिबार बिहान विराटनगरबाट झापाको भद्रपुरतिर गइरहेको हिमशिखर यात्रुबसका एक यात्रुले सहचालकलाई भाडा दिँदा भारतीय रुपैयाँ (भारु) दिए । अरुबेला भारु पाउँदा खुसी हुने बसका कन्डक्टरले यसपटक भने लिनै मानेनन् ।

‘भारु नदिनुस्, चल्दैन’, उनले यात्रुलाई भने ‘बरु पाँच –दश रुपैयाँ कम्ती दिनु तर नेरु नै दिनु ।’ यात्रुले छक्क पर्दै सोधे ‘अरुबेला त लिनुहुन्थ्यो त अनि ?’‘एक डेढ महिना भयो, भारु चल्दैन, भाऊ पूरै घटेको छ’, उनले यात्रुलाई भने । ती यात्रुले भने आफूसँग नेरु नै नभएको बताएपछि कसैसँग साटेर भए पनि दिनु भन्ने जवाफ गाडीका स्टाफले दिए । ती यात्रुले भारु लिइदिन सिट नजिकैका अरुलाई भने तर कोही तयार भएनन् ।

केही समयअघिसम्म भारु लिन हारालुछ हुने नेपालका सीमावर्ती बजारमा यतिबेला भारु लिनै कोही मान्दैनन् । भारतसँग सिमाना जोडिएका बजारमा भारतीय मुद्राको तुलनामा नेपाली मुद्रा बलियो हुने क्रम कायमै छ । विरलै देखिने यस्तो प्रवृत्ति करिब साढे २ दशकयता पहिलो पटक सीमावर्ती बजारमा देखिएको हो । पछिल्लो दुई महिनायता सीमावर्ती बजारमा भारुको तुलनामा नेरु बलियो बनिरहेको छ ।

तस्करी र हुन्डीबाट मागभन्दा बढी भारु भित्रिँदा केही महिनायता सीमावर्ती बजारमा भारु कमजोर भएको अर्थतन्त्रका जानकारहरु बताउँछन् । तरलता अभावको मार खेपिरहेको नेपालको अर्थतन्त्र बलियो भएर यति बेला भारुको तुलनामा नेरु बलियो भएको होइन । अहिले नेरु बलियो हुनुमा बजारको मागभन्दा बढी अवैध रूपमा भारु भित्रिनु हो । बजार माग र आपूर्तिले विनिमय दर तय गर्ने भए पनि तस्करी र हुन्डीबाट धेरै भारु भित्रिएकाले त्यसको आपूर्ति बढेर भाउ घटेको जानकारहरु बताउँछन् ।

सीमा क्षेत्रका व्यापारीहरु अचेल भारु लिन अस्वीकार गर्छन् । विराटनगरदेखि झापाका धुलाबारी, काँकडभिट्टा, भद्रपुर तथा पहाडी जिल्ला इलामका सीमावर्ती बजारहरुमा यतिबेला भारु फालाफाल बनेको छ । ‘मैले त पसलमा कृपया भारु नदिनुहोला भनेर सूचना नै टाँसेको छु’, धुलाबारीस्थित पशुपति भेराइटिजका सन्चालक पशुपति खड्काले हाम्रोमतसँग भने ‘पहिले बट्टा लिएर साट्ने भारु अहिले सयको डेढ सयमा पनि लिन कोही मान्दैनन् ।’

सीमावर्ती बजारमा पसलहरुमा यस्तो सूचना टाँस्ने व्यापारी संख्या लगातार बढिरहेको छ । सुन तस्करीबाट अवैध रूपमा भित्रने भारु र सीमावर्ती क्षेत्रका क्यासिनोका कारण पनि बजारमा छ्यापछ्याप्ती हुँदा भारु कमजोर भएको उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलको भनाइ छ । केही समयअघिसम्म राष्ट्र बैंक, बैंक र सटही काउन्टरले मागअनुरूपको भारतीय मुद्रा उपलब्ध गराउन सक्दैनथे । सर्वसाधारणले चलनचल्तीमा निर्धारित विनिमय दरभन्दा धेरै मूल्यमा भारतीय मुद्रा खरिद गर्नुपर्ने बाध्यता रहेको स्थानीय व्यापारी बताउँछन् । अहिले परिस्थिति बदलिएको छ । सीमावर्ती नेपाली बजारमा भारतीय मुद्रा फालाफाल छ । बैंक र सटही काउन्टरबाहेक बजारमा भारतीय मुद्रासँग कायम नेपाली विनिमय दर (१ सय ६० रुपैयाँ) मा भारु पाइँदैन । भारतीय मुद्रा लिन सकभर कसैले चाहन्नन् ।

भारतमा कालोधनलाई उपयोगमा ल्याउन नेपालबाट कारोबारीमार्फत सुन खरिद गर्ने र त्यसको सट्टा भारु भुक्तानी दिने, भारतमा बसोबास गर्ने तर दोहोरो नागरिकता हुने परिवारले कालोधन लुकाउन वा उपयोगमा ल्याउन नेपालमा ल्याउने गरेको, भारतमा रोजगारीबाट निवृत्त पेन्सनरले पेन्सन ल्याउँदा भारु ल्याउने र सीमावर्ती नेपाली बजारमा भारतीय नागरिकबाट सामान किनमेल तथा सेवा लिँदा भारुको प्रयोग गरिएकाले यस्तो अवस्था आएको हुन सक्ने स्थानीय व्यापारीको अनुमान छ ।

भारतीय बैंकको तुलनामा नेपाली बैंकमा निक्षेपको ब्याजदर धेरै भएकाले नेपालतर्फ भारतीय मुद्राको आपूर्ति बढेको हुन सक्ने अनुमान पनि छ । यो पुष्टि हुने आधिकारिक प्रमाण भने भेटिएको छैन । यसबारे सीमावर्ती बजारमा रहेका वाणिज्य बैंकका शाखा कार्यालयमा निक्षेप वृद्धिको अवस्थाबारे जिज्ञासा राख्दा अपेक्षा गरेअनुरूप निक्षेप बढेको पाइएन ।

विराटनगर र आसपासका सीमावर्ती क्षेत्रमा पनि एक सय भारुको नेपाली १ सय ५५ देखि १ सय ५८ रुपैयाँसम्ममा कारोबार हुँदै आएको छ । ठूलो परिमाणमा नेरु चाहिनेले भारु एक सयलाई नेरु १ सय ५५ रुपैयाँसम्ममा पनि बिक्री गर्ने गरेको भव्य सटही सेन्टरका संजोग भगतले जनाए । ‘विगतमा सटही सेन्टरले एक सय भारु नेपाली १ सय ६५ रुपैयाँसम्ममा किन्थे । अहिले त्यो अवस्था छैन,’ स्थानीय एक व्यवसायीले भने, ‘दुई साताअघि जोगवनी बजारमा एक सय भारु नेपाली १ सय ४० रुपैयाँमा पनि बिक्री भएको थियो ।’

केही महिनाअघिसम्म भारतको जोगवनीस्थित स्टेट बैंक र सेन्ट्रल बैंकमा पैसा राख्ने नेपालीको संख्या निकै थियो । पछिल्लो समयमा भारतीय बैंकले निक्षेपमा ब्याज कम दिन थालेपछि धेरैजसो नेपालीले खाता बन्द गरेका छन् ।
सबैतिर एकैपटक यस्तो अवस्था आउनुअघि करिब १२ वर्षअघि एक महिनासम्म विराटनगर र वीरगंज लगायतका सीमान्त सहरमा भारुको मूल्य ५ रुपैयाँसम्मले घटेको थियो । तीन हप्तायता त्यही क्रम दोहोरिएको हो । नेपाल राष्ट्र बैंकले तोकेअनुसार १०० भारु बराबर नेपाली रुपैयाँ १६० हो । तर सीमावर्ती सहरमा कारोबारीले भारुको भाउ घटेर साटफेर गरिरहेका छन् ।

जोगबनीको आदर्श वस्त्रालयका एक सञ्चालकका अनुसार कारोबारीले तीन हप्ताअघि १०० भारुका लागि १५८ नेरु मात्रै लिन थाले । त्यसको एक हप्तापछि नेरु १५६ भयो, सात दिनयता भने १५८ मा आएर स्थिर भएको छ । जोगबनीको बजारमा नेपाली रुपैयाँमै कारोबार हुन्छ । यहाँका व्यापारी अवैध कारोबारीलाई बट्टा तिरेर भारु खरिद गर्छन् । उनीहरूले भारु १०० का लागि नेरु १६५ सम्म तिरेका छन ्। तीन हप्ताअघि भने नेरु १६२ मा भारु पाइँदै थियो । तर अकस्मात् घटेर १५६ सम्म आइपुग्दा व्यवसायी छक्क परेका छन् ।

जोगबनीकै कलकत्ता क्लोथ स्टोरका कमल तापडियाले आफूले नेरु १५८ तिरेर भारु १०० को खरिद गरिरहेको बताए । ‘खुला बजारमा किन एकाएक भारुको दर सस्तो भयो हामीले बुझ्न सकेका छैनौं,’ उनले भने, ‘भारु सस्तो हुँदा हामीलाई फाइदा नै छ ।’

सीमान्त क्षेत्रका खुला बजारमा भारुको दर सस्तो हुनुको कारण होटल, पर्यटन, विवाह र मदिराको कारोबार नभएको व्यवसायीको दाबी छ । उद्योग संगठन मोरङका कोषाध्यक्ष विपिन काबराले भने, ‘यी त पहिले पनि चलेकै थिए । किन त्यसबेला भारु सस्तो भएन त ? यस्ता नियमित व्यापारले भारु सस्तो हुन सक्तैन । अरू नै कारण हुनुपर्छ ।’ जानकारहरूका अनुसार एक महिनायता चिनियाँ सुन उत्तरी नाकाबाट अवैध रूपमा प्रशस्त आइरहेको छ । र, उक्त सुन भारततर्फ अवैध मार्गबाटै गइरहेको छ ।

नेपालमा भन्दा भारतमा सुनको मूल्य महँगो भएकाले र चिनियाँ सुन अझ सस्तो परेकाले यसको अनधिकृत कारोबार फस्टाएको हो । नेपालमा सस्तो चिनियाँ सुन अनधिकृत रूपमा प्रशस्त भित्रिएकाले यहाँका बैंकबाट व्यवसायीले सुन उठाएका छैनन् । व्यवसायीले पुसबाटै सुन उठाउन छाडेका हुन् । उनीहरुले औपचारिक आग्रह गरेर सुन आयात नगर्न बैंकलाई आग्रह गरेका छन् । माघ लाग्दा पनि बैंकबाट सुन उठेको छैन । माघमा विवाह र ब्रतवन्धको समय हो ।

सीमा छेउका बजारमा १२ वर्षपहिले पनि सुनकै कारण नेरुका तुलनामा भारु कमजोर भएको थियो । स्रोतका अनुसार नेपालमा तरलतासँगै बैंकहरुले निक्षेपमा राम्रो ब्याज दिन थालेपछि नेपालका नातेदारलाई पैसा राख्न दिएका छन् । त्यही भएर बैंकमा तरलता अभाव पनि कम भएको छ। अहिले बैंकसँग दुई खर्बसम्म लगानी गर्नसक्ने पैसा छ । उनीहरू यसका कारण अनधिकृत बजारमा भारु दिएर नेरु खरिद गरिरहेका छन् । यसका कारण नेरुका तुलनामा भारु कमजोर भएको हो । बैंकहरुले मंसिरदेखि नै मुद्दती निक्षेपमा रेमिटेन्स खाताका लागि १४ प्रतिशतसम्म ब्याज दिएका थिए । (हाम्राे मत)