दमकः पुरक प्रस्ताव नसमेटिए सभा चल्दैन-एमाले

सेयर गर्नुहोस्

झापा, असार ३०
नेकपा एमालेले फरक मत सहितको नीति तथा कार्यक्रम नआए दमकको नगरसभामा सहभागी नहुने चेतावनी दिएको छ । दमकमा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले सार्वजानिक महत्वको प्रस्तावलाई प्रमुख राम थापाले समेट्न अस्वीकार गरेको दाबी गरेका छन् । आज उनीहरुले पत्रकार सम्मेलन गर्दै नगरबासीका हितका केही बुँदा संशोधन गर्न माग गरिएपनि प्रमुखले त्यसमा चासो नदिएको आरोप लगाए ।
नेकपा एमालेका तर्फबाट संसदीय दलका संयोजक लोकबहादुर धिमालले नगरसभा सदस्यलाई अपमानजक रुपमा संशोधन प्रस्ताव राख्न नदिएको बताए । उनले गाउँ नगर सभा सञ्चालन ऐनको दफा २९ को व्यवस्था विपरित प्रमुख थापाले बोल्न नदिएको आरोप लगाए । असार २७ गतेको नगर सभाको दोस्रो बैठकमा नगर सभा सदस्य कमल श्रेष्ठले राखेको संशोधनको प्रस्ताव राख्न नदिएको विरोधमा एमालेले हिजो बुधबारको नगर सभाको बैठक बहिस्कार गरेको थियो । धिमालले एमालेका तर्फबाट राखिएको पुरक प्रस्ताव नीति तथा कार्यक्रममा समाबेश नभए सम्म नगर सभा सञ्चालनको वातावरण नबन्ने बताए । अपमानजनक रुपमा नगरसभा सदस्यलाई बोल्न दिइएन, नगर सभामा सार्वजानिक महत्वको प्रस्ताव राख्न नदिने यो पञ्चाती प्रबृत्ति तुरुन्तै सञ्चाउन आग्रह गर्दछौ, उनले भने, हामी पनि जनप्रतिनिधी हौ, हाम्रा पनि नागरिक प्रतिको दायित्व छ, तर एकलौटी ढंगमा गरिए हामी सहभागी हुने छैनौ ।
दमक नगरपालिकाका निवर्तमान मेयर रोमनाथ ओलीले सबै पक्षको माग समेटेर नगरसभा अघि बढाउनुपर्नेमा प्रमुखले एकलौटी ढंगले लगेको बताए । कार्यपालिका सदस्य शारदा भट्टराई, नविन बरालले प्रकृया नपुर्याइ कतिपय प्रस्ताव प्रमुखले सिधै सभामा टेबल गरेकाले समस्या निम्तिएको बताए । बैठकको कार्यसूची कार्यपालिका सदस्यलाई एउटा पठाउने, अनि सभामा अर्कै सूची राख्ने गरिएको छ, बरालले भने, हाम्रा माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता पुरा नभएसम्म सभा चल्दैन । यस अघि असार १० मा भएको सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । यस्तै २७ गतेको अर्को बैठकमा एमालेको फरक मत राख्न नदिएसँगै सभा स्थगित भयो । असार २९ गतेको तेस्रो बैठकमा एमालेले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगरेकाले गणपुरक सख्या नपुृगेर साउन ३ गतृे सम्म सभा स्थिगित भएको छ ।