धनप्रसाद तिवारीकाे स्मृतिमा विद्यालयमा सहयोग पेटिका हस्तान्तरण

सेयर गर्नुहोस्

दमक, ३० चैत । झापाको कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला तिवारीले गाउँपालिकाका विद्यालयमा सहयोग पेटिका हस्तान्तरण गरेकी छिन् । उनका श्रीमान् धनप्रसाद तिवारीकाे नवाै स्मृतिमा कमल गाउँपालिकाका सामुदायिक विद्यालयमा पेटिका राखिदिएकी हुन् । विपन्न विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्याउनका लागि उनलेे प्रति विद्यालय पाँच सयका दरले पेटिकामा सहयोग समेत गरेकी छिन् । विपन्न विद्यार्थीलाई अध्ययन सहित शैक्षिक सामाग्री त्यहीँ पेटिकामा जम्मा भएको सहयोग रकमले खर्च गर्न सकिने छ । नरेन्द्र जनता माध्यमिक विद्यालयका सहायक प्रध्यानाध्यापक निर्मल गड्ताैलाले जन्मदिन सहितका अवसरमा विद्यार्थीले पेटिका सहयोग गर्न सकिने बताए । पालिकाका २१ वटै सामुदायिक विद्यालयमा सहयाेग पेटिका राखिएकाे छ । यस्तै गाउँपालिकाकाे सामाजिक शाखामा महिला र विपन्नका लागि सहयाेग पेटिका राखिने छ । पेटिका हस्तान्तरण कार्यक्रममा स्वर्गीय तिवारीका भाइ गाेविन्दले धनप्रसादकाे जिवनीबारे चर्चा गरेका थिए । कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य न्याैपाने, वडा अध्यक्षहरु सहभागी थिए ।