झापा, ६ चैत
झापाका ७ वटा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नजिता सार्वजानिक भएको छ । जस अनुसार एमाले अखिल ४ वटा क्याम्पसमा विजय भएको छ । यस्तै नेविसंघ ३ वटा क्याम्पसमा बिजय भएको छ । हिजो झापाको मेची बहुमुखी क्याम्पस भद्रपुर, गौरादह कृषि, सितारमेश क्याम्पस बुधबारे, गौरीगञ्ज बहुमुखी क्याम्पस, दमक बहुमुखी क्याम्पस, कनकाई बहुमुखी सुरुङ्गा, इन्द्रचन्द्र क्याम्पस बिर्तामोड, त्रिदेव बहुमुखी क्याम्पस चारआली, कनकाई आदर्श क्याम्पस बिर्तामोड र शनिश्चरे बहुमुखी क्याम्पस शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको हो । गौरादह बहुमुखी क्याम्पस र काँकरभिट्टा क्याम्पसमा निर्वाचन स्थगित भएको छ । काँकरभिट्टा क्याम्पसमा चैत १० गते निर्वाचन गर्ने सहमति भएको छ भने गौरादह क्याम्पमा सर्वसम्मत गर्ने आन्तरिक सहमति भएको बुझिएको छ ।
इन्द्रचन्द्र बहुमुखी क्याम्पस विर्तामोडको स्ववियु अध्यक्षमा नेवि संघका पवन दाहाल निर्वाचित भएका छन् । दाहालले तिन सय ९० मत प्राप्त गर्दा एमाले अखिलका अध्यक्ष उमेद्वार निर्मल बिश्वकर्माले दुई सय ३७ मत प्राप्त गरे । अध्यक्षका अर्का उमेद्वार सुरेन्द्र गिरीले एक सय ९७ मत र निकिता कट्टेलले ७ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै सचिवमा नेवि संघकै श्रीजित ढुंगाना चार सय १५ मत प्राप्त गरी बिजयी भएका छन् । सचिवमा एमाले अखिलका उमेद्वार मन्जु रिजाल संस्कृतिले तिन सय आठ र सुजन दाहालले एक सय १६ मत प्राप्त गरे ।
यस्तै गौरादह कृषि क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुको प्यानल विजयी भएको छ ।
अनेरास्ववियुका विक्रमकुमार तिवारी १३० मत ल्याई प्यानलसहित विजयी भएका हुन् । सोही प्यानलका तर्फबाट सचिव पूर्णबहादुर राना १३८, कोषाध्यक्ष झरना सुवेदी १३९ तथा सदस्यहरुमा प्रकाश पौडेल १३०, सविन कटुवाल १२७, सुनिता बस्नेत १२३, मनिचकुमार राई १४२ र रिकिताकुमारी चौधरी १३९ मत ल्याई विजयी भएका छन् । नेविसंघका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र काफ्लेले भने ९९ मत पाएका छन् । त्यहाँ अनेरास्ववियु र नेविसंघको दुईवटा प्यानलले उम्मेदवारी दिएको थियो ।
यसैगरि गौरीगञ्ज बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियुको प्यानल नै विजयी भएको छ। अनेरास्ववियुका ईस्तव हुसेनले ११८ मत ल्याई प्यानलसहित विजयी हासिल गरेका हुन् । उनका प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका रोशन यादवले मात्र ६८ मत पाएका छन् । त्यस्तै सचिवमा अनेरास्ववियुका निरबहादुर प्रधान १०८ , कोषाध्यक्षमा निरज माझी १०४, सदस्यहरुमा ममताकुमारी राजवंशी १०६, समीक्षा कटुवाल ९८ र कृष्णप्रसाद गन्गाई ९८ मत ल्याई निर्वाचित भएका छन् ।
कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको स्ववियु सभापति अनेरास्ववियुले जितेको छ ।सिंगल प्यानल बनाएर निर्वाचन लडेको अनेरास्ववियुले नेविसंघ, अखिल क्रान्तिकारी र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयुक्त प्यानललाई पराजित गरेको हो । गठबन्धन बनाएर निर्वाचन लडेको नेविसंघले सचिव र एउटा सदस्य पदमात्र जितेको छ । अनेरास्ववियुका तर्फबाट अध्यक्षमा चेतन आचार्य ४१४ , सचिवमा नेविसंघका बासुदेव निरौला ३६२, कोषाध्यक्षमा अनेरास्ववियुकी प्रिया पुरी ३५८ तथा सदस्यहरुमा अनेरास्ववियुका मिना ढुङ्गेल ३९४, रोहन कोइराला ३७५, जोमर अली ३६६, मनिश दर्जी ३४७ , मदन उप्रेती ३६२ र नेविसंघका प्रविण राई ३५९ मत ल्याई निर्वाचित भएका छन् ।
झापाको शनिश्चरे बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा गठबन्धनको प्यानल विजयी भएको छ । गठबन्धनका तर्फबाट नेपाल विद्यार्थी संघका बिशाल थापा २७७ मत ल्याई सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै सचिवमा अखिल क्रान्तिकारीका गगन चापागाईं २६२ मत ल्याई विजयी भएका छन् ।
मेचीनगरको त्रिदेव क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अध्यक्ष पद नेपाल विद्यार्थी संघले जितेको छ । नेपाल विद्यार्थी संघले अध्यक्ष , सचिव र दुईवटा सदस्य पद जितिरहँदा अनेरास्ववियुले कोषाध्यक्षसहित पाँचवटा सदस्य पदमा विजय हासिल गरेको छ । अध्यक्षमा नेविसंघका अर्जुन गौतम २८१ , सचिवमा नेविसंघका मनिराज विष्ट ३०६ , कोषाध्यक्षमा अनेरास्ववियुका इश्वर रिजाल ३२२ , सदस्यहरुमा भूगोल भट्टराई अनेरास्ववियु २९७ , दावा तामाङ ३२५ , हरि पौडेल अनेरास्ववियु २६१ , मदन चिमरिया अनेरास्ववियु २९३ , कैलाश रेग्मी अनेरास्ववियु २९६ , सृजल अर्याल नेविसंघ ३४१ र रोशन पोखरेल नेविसंघ ३०६ मतसहित विजयी भएका छन् । यस्तै बुद्धशान्तिस्थित सीतारमेश बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुका प्रदीप बर्देवा अध्यक्षमा निर्वाचित भएका छन् ।
उनले ३३ मतान्तरले जित हासिल गरेका हुन् । बर्देवाले २०६ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी नेविसंघका विवेक कार्कीले १७३ मत प्राप्त गरेका छन् । त्यस्तै सचिवमा अनेरास्ववियुका अशोक भण्डारीले जितेका छन् । उनले २०४ मत प्राप्त गर्दा नेविसंघकी मेलिना मिश्रले १७१ मत प्राप्त गरेकी छिन् । कोषाध्यक्षमा नेविसंघका सन्तहाङ लिम्बूले जितेका छन् । उनी १८९ मत ल्याएर बिजयी भए भने अनेरास्ववियुकी रमला राईले १८२ मत प्राप्त गरेकी थिइन् । हिजो भएको निर्वाचनमा जम्मा ३८८ मत खसेको थियो ।