दमक, २ चैत
झापा, साहित्यकार नयनराज पाण्डेको कथा महानागरलाई नाट्य रुपान्तरण गरेर नाटक ‘लङ् टाईम नो सी’ बनाईएको छ । सोहि नाटक दमक ९ को कदम थिएटरमा दैनिक मञ्चन भई रहेको छ । सम्वन्धहरुमा आएका दुरीको कथा नाटकमा देख्न पाईन्छ । कथा र नाटकलाई आञ्चलिकता दिलाउन संवादहरुमा स्थानीयकरण गराउने प्रयास पनि भई रहेको छ । थिएटरमै नाट्य अभ्यास गर्दै आएका दिपक खरेलले निर्देशन गरेको नाटक नयाँ कलाकारहरुको विकास र उत्पादनमा पनि सहयोगी बनेको थिएटरका अध्यक्ष हेमन्त बुढाथोकीको भनाई छ ।
सिमित श्रोत साधनका विच पनि नाट्य टीमको अभ्यासले नाटकलाई कलात्मक बनाएको उनले प्रतिक्रिया दिए । फागुन २९ गते देखि शुरु भएको नाट्य मञ्चन चैत ६ गते सम्म नियमित रुपमा रहने थिएटरका निर्देशक तथा कथालाई नाट्य रुपान्तरण गरेका सिजन दाहालले जानकारी दिएका छन् ।
नाटकले कलाकारहरुको पुस्तालाई पनि जोडेको छ । अनुभवी कलाकार देखि नवअभ्यासकर्मी सम्मको संयोजन नाटकमा देखिन्छ । खारिएका रंगकर्मी सुवास खरेल, पासाङ चोमु शेर्पा, मनिक शंकर, नबिन रिजाल, रश्मी उप्रेती, शिखर लाम्गादे लगायतका कलाकारहरुको अभिनयले नाटकलाई जीवन्तता दिएको छ । अभिनयमा कला भर्न थिएटरको अँध्यारो कोठालाई प्रकाश व्यवस्थापनले पनि साथ दिएको छ भने युसन वान्तावा राई र सुजन भण्डारीको प्रत्यक्ष वाद्यवादनले दर्शकहरुलाई कथाको अनुभूती गराउन सहयोग गरेको छ ।
सेयर गर्नुहोस्
२ चैत्र २०७९, बिहीबार २०:२५