तुलसी सहकारीका बचतकर्ता प्रदर्शनमा

सेयर गर्नुहोस्

दमक, २५ फागुन
दमक ९ मा रहेको तुलसी सहकारी संस्थाका बचतकर्ताले बचत फिर्ताको माग सहित प्रदर्शन गरेका छन् । संस्थाका सञ्चालक नै फरार भएपछी बचतकर्ता सडकमा आएका हुन् ।
झण्डै ५ वर्षदेखि दमकमा कारोबार गर्दै आएको यो सहकारीले २ हप्ता अघि बचत फिर्ता दिन नसकेको भनेर कार्यालय र संस्थाले नै सञ्चालन गरेको डिर्पाटमेन्ट बन्द गरेको थियो । त्यसपछी बचत कर्ताहरुले निरन्तर बचत फिर्ताको माग गर्दै नगरपालिकामा ध्यानाकर्षण गराउदै आएका छन् ।
बिहिवार त बचतकर्ताले ब्यानर सहित दमक चौकमा प्रदर्शनमा उत्रिए । स्थानीय सञ्चालक समेत नरहेका यो सहकारीमा बढी ब्याँजको लोभले बचत गरेको र प्रलोभनमा पारेर बचत गरेको बचतकर्ताले बताएका छन् । दमकको एक कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले तुलसी सहकारीमा झण्डै एक अर्ब रुपैयाँ दमकका बचतकर्ताको जोखिममा परेको बताए । थापाका अनुसार एक जना बचत कर्ताले बढी ब्याँजकै आशाले जग्गा बिक्रीबाट आएको २ करोड ७७ लाख रुपैयाँ जोखिममा परेको छ । नगरपालिकाको अनुमगनको क्षेत्र अधिकार नगर भित्र कार्यक्षेत्र रहेको सहकारीको मात्रै रहने गरेको छ । प्रदेश भरी शाखा सञ्चालन गरेको तुलसी सहकारीको अनुगमन निरिक्षण र सुपरिक्षण सहकारी रजिष्ट्रारको कार्यालय प्रदेशले गर्ने गरेको छ ।