दमक क्याम्पसको सञ्चालक समितिमा बस्न नेताहरुको रस्साकस्सी

सेयर गर्नुहोस्

झापा, माघ २३
पूर्वकै नमुना क्याम्पसका रुपमा चिनिएको दमक बहुमुखी क्याम्पसको सञ्चालक समितिमा बस्न राजनीतिक दलका नेताहरुको रस्साकस्सी देखिएको छ । दमकका क्रियाशिल राजनीतिक दलका केन्द्रीय सदस्य सम्म उम्मेद्वार बनेका छन् । कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू, जिल्ला उपसभापति शेरबहादुर भट्टराई, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, पूर्व नगर सभापति रोशन विष्ट, पूर्व सञ्चालक समिति अध्यक्ष सुरेस सुब्बा सहितका कांग्रेस नेताहरु उम्मेद्वार छन् ।
एमालेका प्रदेश कमिटी सदस्य अम्बिकाप्रसाद खनाल, नगर ईञ्चार्ज बोधप्रसाद घिमिरे, नगर अध्यक्ष गेहनाथ पोखरेल उम्मेद्वार छन् । नेकपा माओवादी केन्द्रका नगर ईञ्चार्ज बेदु गौतम, नगर अध्यक्ष कुलबहादुर बस्नेत, नेता पर्शु सञ्जेल, डम्बर पुलामीले उम्मेद्वारी दर्ता गरेका छन् । राप्रपाका जिल्ला उपाध्यक्ष बिजय बराल, क्षेत्रीय अध्यक्ष तथा दमक ७ का वडा अध्यक्ष भिमप्रसाद पौडेल, नगर अध्यक्ष हेम सुवेदी, नेता इसुराज दाहाल समेत उम्मेद्वार छन् । जसपाका देउकुमार नेम्बाङ, धिरेन सुब्बा लावती, नेकपा एस नगर अध्यक्ष महेश घिमिरे पनि चुनावी मैदानमा छन् ।
दमक क्याम्पसका पूर्व प्रमुख हरि जैसवाल समेत सञ्चालक समिति सदस्यका लागि उम्मेद्वारी दिएका छन् । ११ जनाको सञ्चालक समिति सदस्य पदका बिभिन्न राजनीतिक दलमा आबद्ध २७ जना नेताहरु उम्मेद्वार रहेका छन् । ती सबै दलले शिक्षण संस्थालाई राजनीतिबाट अलग्गै राख्नुपर्ने भन्दै सार्वजानिक प्रतिबद्धता हरेक पटक जनाउदै आएका छन् ।
निर्वाचन कार्यक्रम अन्तर्गत माघ २४ गते र २५ गते उम्मेद्वारी फिर्ताको समय तोकिएको छ । फागुन १ गते हुने निर्वाचनमा २ सय १ जना क्याम्पस सभा सदस्यले मतदान गर्ने छन् ।