योग्यता पुगेका जनप्रतिनिधिका छाेराछाेरीले सोही पालिकामा जागिर खान पाउने कि नपाउने ?

सेयर गर्नुहोस्

उर्लाबारी, ७ असोज
उर्लाबारी नगरपालिकामा रिक्त एमआइएस अपरेटरको लागि नगरपालिकाले भदौ ९ गते करारमा पदपूर्तिका लागि दरखास्त आह्वान गर्यो । उक्त पदको आवेदन दिएका मध्ये चार जनाको नाम सर्ट लिष्टमा निस्कियो । आशुतोषकुमार पौद्दार, पवन पौडेल, सफल अधिकारी र सुवेक्षा राजवंशी मध्ये पवन पौडेल उर्लाबारी नगरपालिकाकी उपमेयरका छोरा हुन् ।
पवन उक्त पदका लागि योग्यताप्राप्त हुन् । उनी उर्लाबारीकै एक निजी विद्यालयमा कम्प्युटर विषय अध्यापन गराउँछन् । तर, आफ्नी आमा उपमेयर भएकै कारण उनलाई सो पदको सर्ट लिष्टमा नाम निस्कँदा अनेक विरोधका स्वर सुनिए । उपमेयर आवद्ध पार्टी नेकपा एमालेभित्रैबाट विरोध भयो, उपमेयरको गाडीमा ढुंगा हान्ने धम्की आए । तर, यी विरोध गर्नेहरुले सर्ट लिष्ट कसरी तयार हुन्छ भन्ने बुझ्न जरुरी छ ।
सर्ट लिष्ट हचुवाका भरमा कसैको भनसुनमा तयार हुने होइन । एमआईएस अपरेटर र फिल्ड सहायक छनौट सम्बन्धी कार्यविधि २०७६ ले सर्ट लिष्टका लागि निम्न प्रावधान तोकेको छः
(क) न्यूनतम शैक्षिक योग्यताको लब्धांकपत्रमा उल्लेखित अंक वा ग्रेडको आधारमा,
(ख) खण्ड (क) बमोजिम योग्यताक्रम निर्धारण गर्न नसकिएमा अनुभवको आधारमा,
(ग) खण्ड (ख) बमोजिम समेत योग्यताक्रम निर्धारण गर्न नसकिएमा माथिल्लो तहको शैक्षिक योग्यताको लब्धांकपत्रमा उल्लेखित अंक वा ग्रेडको आधारमा,
(घ) खण्ड (ग) बमोजिम समेत योग्यताक्रम निर्धारण गर्न नसकिएमा उमेरको जेष्ठताको आधारमा,
यी आधारमा टेकेर सर्ट लिष्ट तयार पारिएको हो । फेरि सर्ट लिष्टमा पर्ने बित्तिकै जागिर सुनिश्चित हुँदैन । एक पदका लागि खुलेको एमआईएस अपरेटर पदमा चार जनाको नाम सर्ट लिष्टमा निस्किएको छ । चौतर्फी विरोध भएपछि आज फेसबुकमा स्टाटस लेख्दै पवनले उक्त परीक्षामा सामेल नहुने निर्णय गरेको जनाएका छन् ।
उनले लेखेको स्टाटस जस्ताको तस्तैः
सम्पूर्ण उर्लाबारीबासी आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा मलाई चिन्नुहुने मित्रहरुमा न्यानो नमस्कार !
२०७९÷०५÷०९ गते १५ दिनको म्यादसहितको एम.आइ.एस. अपरेटर र रोजगार सहायकको १–१ जना गरी जम्मा २ जनाको माग संख्या भएको विज्ञापन उर्लाबारी नगरपालिकाको फेसबुक पेज र वेबसाइटमार्फत प्रकाशन भएको थियो । उक्त दुई मध्ये मैले पनि एम.आइ.एस. अपरेटर पदमा नेपालको संविधानले दिएको अधिकारको प्रयोग गर्दै एक सक्षम र योग्य नेपाली नागरिक भएको हैसियतले आवेदन दिएको थिएँ । परीक्षाको पहिलो प्रक्रिया (सर्टलिस्ट) मा मसहित अन्य तीन जनाको नाम प्रकाशन भयो । अन्य परीक्षा हुन अझैँ बाँकी नै भएता पनि सर्टलिस्ट नै अन्तिम नियुक्ति भएको र मेरी आमा अर्थात उर्लाबारी नगरपालिकाकी उपमेयरको सोर्स, फोर्स र पावरबाट नियुक्ति भएको झैँ गरी बजार तथा सामाजिक सञ्जालमा हल्ला फैलिए । अझै पनि पूर्ण परीक्षा भने भैसकेको छैन ।
उपमेयरको छोरोले उक्त नगरपालिकाभित्र सरकारी कार्यालयमा जागिर खानु नहुने, यदि परीक्षामा पास भइहाले पनि गाडीमा ढुङ्गा हान्नेजस्ता सूचना पनि प्राप्त भए । उपमेयरको गाडी भनेको व्यक्तिगत गाडी होइन र यसमा क्षति पुग्नु भनेको सरकारी सम्पत्तिमा क्षति पुग्नु हो । मेरो कारणले सरकारी सम्पत्तिमा क्षति पुग्नु अत्यन्तै संवेदनशील र लज्जास्पद हुनेछ । अनि आमा उपमेयर भएकै कारण मैले योग्यता पुग्दापुग्दै पनि खुल्ला प्रतिस्पर्धाबाट परीक्षा दिँदा, सर्टलिस्टमा नाम आउँदा र अझ पास नै हुँदा उपमेयरको नैतिकता माथि नै प्रश्न उठ्ने, कलंक लाग्ने हुन्छ भने उक्त नैतिकताको आधारमा पनि मैले २०७९÷०६÷०९ गते हुने भनिएको सिप परीक्षण र अन्तर्वार्तामा सहभागी नहुने निर्णय लिएको जानकारी गराउँदछु ।
अन्त्यमा, योग्यता पुगेको, संविधानले दिएको अधिकारको प्रयोग गर्दै खुल्ला प्रतिस्पर्धाबाट परीक्षा दिएर पास भएको खण्डमा कुनै पनि जनप्रतिनिधि तथा उच्च पदमा रहेका व्यक्तिका छोराछोरीले सोही पालिकामा जागिर खान पाउने कि नपाउने ?

स्राेत: नेपाली पाेटल डट कम