दमकमा हट्याे पटके कर, एमालेका माग सम्बाेधन, बजेट पारित

सेयर गर्नुहोस्

झापा, साउन ११
नेकपा एमालेले राखेका सार्वजानिक महत्वकाे प्रस्तावमा नगर प्रमुख राम थापा सहमत भएसँगै दमक नगरपालिकाकाे एघाराै नगरसभा सकिएकाे छ । साउन ७ गतेकाे कार्यपालिका बैठकले एमालेले राखेका मागहरू सम्बाेधन गर्ने निर्णय गरेकाे थियाे । एमालेकाे माग बमाेजिम दमकमा अब पटके कर खारेजी भएकाे छ । माग सम्बाेधन नभएकाे भन्दै एमालेले नगर सभामा विराेध जनाउने गरेकाे थियाे । तर असार ६ गते नगर प्रमुख थापा सहित एमालेका कार्यपालिका सदस्यहरूले सहमति गरेपछी कार्यपालिका बैठकले एमालेका मागहरू सर्वसम्मत पारित गरेकाे थियाे ।

दमक नगरपालिकाको वजेटसहित नीति तथा कार्यक्रम आज सम्पन्न पाँचौ बैठकले पारित गरेको हाे । नगर सभाले दमक नगरपालिकाको विनियोजन विधेयक– २०७९ ,आर्थिक विनियोजन विधेयक- २०७९ सहित आर्थिक वर्ष २०७९-८० का लागि रु १ अर्ब ६३ करोड ४० लाख ४० हजार बराबरको बजेट पारित गरिएको थियो ।
नगर सभाको बैठकले पूर्वाधार सेवा शुल्कमा नाममा संकलन गरिदै सिटी रिक्सामा लगाइएको कर खारेज गरेको छ । त्यस्तै बैठकले उपप्रमुख रेगिना भट्टराईको संयोजकत्मा तीन सदस्यीय न्यायिक समिति ,वडा सदस्य गोपालकृष्ण संग्रौलाको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरेको छ ।
सभाले स्वीकृत दरबन्दीमा कार्यरत कर्मचारीका लागि १० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने, कर्मचारीका लागि नेपाल सरकारले बृद्धि गरे अनुसार तलब भत्ता उपलब्ध गराउने समेत निर्णय गरेको छ ।
त्यस्तै सभाले नगरपालिकामा चालु सुरक्षित आप्रवासन कार्यक्रम, गरिबी निवारणका लागि आयआर्जन कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो । त्यस्तै, नगर सभाले सार्वजनिक संघसंस्थाको जमिन, भवन, घर नक्सापासलगायतमा लाग्ने मालपोत र अन्य कर मिनाहा गर्ने निर्णय गरेको छ ।
त्यस्तै दमक नगरपालिकाको नगर सभाले चालु विकास कार्यक्रम अन्तर्गत नगर कार्यपालिकाको निर्णयका आधारमा आवश्यकता अनुसार एउटा शीर्षकबाट एक वा बढी शीर्षकमा बढीमा २० प्रतिशत रकम रकमान्तर गर्न सक्ने निर्णय गरेको छ । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईले नगर कार्यपालिकाका तर्फबाट अन्य विशेष प्रस्तावहरु पेश गरेका थिए ।
यसअघि गत असार १० गतेबाट सुरु भएको दमक नगरपालिकाको ११औं नगरसभाको बैठक सत्ता गठबन्धन दलहरु र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुका बीचमा उत्पन्न असमझदारीका कारण असार १० , २७, २९ र साउन ३ गते स्थगित गरिएको थियो ।
नगरपालिकाको बजेट पारित नहुँदा नगर र वडाबाट दिइने सिफारिसलगायत विभिन्न निकासी कर र नगरपालिकाले लिने विभिन्न शीर्षकका करको कामसमेत प्रभावित हुन पुगेको थियो ।