झापा, साउन ४
नेकपा एमालेले दमक नगर सभामा उठेका बिषयहरु कार्यपालिकामा छलफल गरेर अघि बढे मात्रै निकास निस्कने बताएका छन् । आज दमकमा निर्वाचित एमालेका जनप्रतिनिधीहरुले नगर सभाको दोस्र्रो बैठकमा राखिएका फरक मतलाई कार्यपालिका बैठकमा छलफल गरिए सहजै निकास निस्कने बताएका हुन् ।
नेकपा एमालेका कार्यपालिका सदस्य तथा पूर्व नगर उपप्रमुख लोकबहादुर धिमालले सहज निकास निकाल्नका लागि असहमतिका बुँदाहरु छलफल गरिनुपर्ने बताए । उनले भने, अफवाह फैलाएर, कहिले गाडी माग्यो भनेको छ, कहिले के छ, नगर पालिकाले भाडामा मागोस्, मैसँग ३ वटा गाडी छन् । धिमालले ती बिषयहरु कहिले नउठाइएको र नगरपालिकाले मुख्य मागहरुलाई ओझेलमा पार्न भ्रम छरेको बताए । एमालेले उठाएका माग सम्बोधन नभएसम्म नगर सभा सञ्चालनको वातावरण तयार नहुने उनले बताए ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान नगर प्रमुख रोमनाथ ओलीले संविधानमा नभएपनि आफनो पार्टीको विधानमा पालिका दलको व्यवस्था रहेको र त्यस अनुरुप पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले भुमिका निर्वाह गर्ने बताए । उनले यसअघिको स्थानीय तहमा पनि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु सम्मिलित पालिका दल रहेको र त्यसमा छलफल गरेरै नगर सभामा प्रस्तुत हुने गरिएको जिकिर गरे । ओलीले दमक नगरपालिकाका प्रमुख राम थापा स्वतन्त्रबाट निर्वाचित प्रमुखको जति समेत हैसियत नराख्ने बताए । हर्क साम्पांग र बालेन शाहले विधि संगत तरिकाले कार्यपालिका बैठकमा पेश गरेर, सहमति गरेर बजेट ल्याए, ओलीले भने, त्यति पनि गर्न सक्नु भएन यहाँका प्रमुखले । ओलीले प्रमुखको हठ यस्तै रहे नगरपालिका चल्न नसक्ने समेत दाबी गरे ।
सेयर गर्नुहोस्
४ श्रावण २०७९, बुधबार १६:५४