दमकको नगर सभाः एमालेको विरोध कायमै

सेयर गर्नुहोस्

झापा, असार २९
संशोधन सहित नीति कार्यक्रम र बजेट नआए नेकपा एमालेले दमक नगरपालिकाकाे आजको नगर सभाको बैठकमा विरोध जनाउने भएको छ । सोमबारको बैठकमा राखेका संशोधन प्रस्तावलाई नीति कार्यक्रममा समेट्नुपर्ने माग एमालेको छ ।
नेकपा एमाले दमक नगर कमिटीका अध्यक्ष गेहनाथ पोखरेलले संशोधन प्रस्ताव माथि छलफल नभएसम्म एमालेले स्टेण्ड लिने बताए । सार्वजानिक महत्वको प्रस्ताव छलफल नै नहुने र ती मागलाई नीति कार्यक्रममा नसमेटे एमालेले विरोध जनाउने छ, उनले भने, हाम्रा केही थप प्रस्तावमा छलफल गर्नुपर्ने हाम्रो अडान यथावत छ । सोमबारको बैठकमा नेकपा एमालेका तर्फबाट नगर सभा सदस्य कमल श्रेष्ठलाई प्रस्ताव राख्न नदिएको भनेर एमालेले विरोध जनाउदै आएको छ ।
एमालेले नगरपालिकाको विकासका लागि केही संशोधनको बुँदा राखेको दाबी गरेको छ । दमक नगरपालिकामा एमालेका संसदीय दलका नेता लोकबहादुर धिमालले नगर सभा सदस्यले बैठकमा धारणा राख्न नपाउनु दुखद भएको बताए । दमकमा निरंकुशताको हद देखाइएको छ, प्रमुखमा त्यो पञ्चायती दम्भ अझै देखियो, उनले भने, फरक मत दर्ज नभए सम्म हाम्रो विरोध जारी रहने छ । उनका अनुसार समग्र नगरको हितमा नागरिकको सुविधाका लागि ३६ बुदेँ फरक मत राखिएको छ । दमक नगरपालिकाका कार्यपालिका सदस्य नविन बरालले ती मागलाई नीति कार्यक्रममा लिखत नगरिसम्म विरोध जारी रहने बताए । उनले नगर प्रमुखले समन्वय समेत नगरेको आरोप लगाए । बरालका अनुसार सभामा प्रस्तुत गरिने विषयमा नगर कार्यपालिकामा समेत कुनै छलफल भएको छैन् । दमकमा ५५ जना नगर सभा सदस्यहरु मध्ये गठबन्धन दल सँग १२ जना मात्रै सदस्य छन् । जुन बैठक बस्नका लागि गुणपुरक संख्या समेत अपुग हुन्छ ।