बाढीले झापाका २७० घर प्रभावित, उद्धार जारी (भिडियाे सहित)

सेयर गर्नुहोस्

झापा, असार १४
अविरल बर्षासंगै झापाका विभिन्न स्थानमा खोला नदीको कटान र डुबानका कारण करिब २ सय ७० भन्दा बढी परिवार प्रत्यक्ष प्रभावित भएका छन ।
कन्काई, कमल बनियानी, रतुवा लगायतका मुख्य खोला नदीमा आएको बाढीका कारण धेरै जसो मानिसहरु घर छोडेर बाहिर निस्किनु परेको छ ।

मौसमविदहरुले आज राती र भोली ( बुधबार) सम्म पनि भारी बर्षाको सम्भावना औंल्याएका कारण बाढी प्रभावित तथा खोला नदी आसपासका बस्तीहरु थप जोखिममा पर्ने भएकाले त्रास कायमै रहेको छ ।

बाढीका कारण झापाको कमल गाउँपालिका, गौरीगञ्ज गाउँपालिका, शिवसताक्षी , गौरादह नगरपालिका र कचनकवल गाउँपालिका बढी प्रभावित भएका छन भने दमक, विर्तामोड , भद्रपुर लगायतका शहरी क्षेत्र पनि पानीको उचित निकासको अभावमा डुबानमा परेका छन । बाढी प्रभावित क्षेत्रमा सम्बन्धित पालिकाका जनप्रतिनिधिसहित सुरक्षाकर्मी, स्वयंसेवक उद्धारकर्ताहरुको टोलीले दिनैभर ठाउँ ठाउँमा उद्धार गरेको छ । गौरीगञ्ज गाउँपालिका वडा नं १ मा पानी नपस्ने डुंगा ( बोट)को प्रयोग गरि १५ परिवारलाई उद्धार गरिएको छ ।

घरमा खोलो पसेका सबै परिवारका सदस्यहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । शिवसताक्षी १ स्थित एक कुखुरा फार्ममा पानी पसेपछि करिब १० लाख मुल्य बराबरका कुखुरा मरेका छन भने कमल ५ मा चाँजु खोलाको कटानका कारण आधा दर्जन परिवार विस्थापनको उच्च जोखिममा परेका छन । स्थानीय तहहरुले बाढीको उच्च जोखिममा परेका सर्वसाधारणका लागि परिआएको अवस्थामा बसोबासको बैकल्पिक बन्दोबस्ती मिलाएका छन । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले नेपाल रेडक्रस सोसाइटी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतसंगको सहकार्य र समन्वयमा तत्काल राहत तथा उद्धारको पूर्व तयारी बलियो बनाइएको बताए ।