माङसेबुङ गाउँपालिकाकाे अध्यक्षमा एमालेका हेमन्त राई निर्वाचित

सेयर गर्नुहोस्

इलाम, जेठ २:इलामको माङसेबुङ गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका उम्मेद्वार हेमन्त राई विजयी भएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३ सय २३ मतको झीनो अन्तरले पराजित गर्दै राई अध्यक्ष पदमा विजयी भएका हुन् ।

एमालेका राईले ३ हजार ८ सय १८ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका डिकेन्द्र इदिङ्गोले ३ हजार ४ सय ९५ मत पाएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए ।

मंगोल नेशनल अर्गनाइजेशनका प्रेमकुमार केरुङले १४ मत मात्र पाए ।

इदिङ्गो निवर्तमान गाउँपालिका अध्यक्ष हुन् । २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा राईलाई नै पराजित गर्दै इदिङ्गो अध्यक्षमा विजयी भएका थिए । ५ वर्षपछि दै नेताबीच दोश्रो पटक आमनेसामने भएका हुन् । यसपटक भने राईले बाजी मार्न सफल भए ।

राई एमालेका माङसेबुङ गाउँकमिटीका अध्यक्ष हुन् भने इदिङ्गो नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हुन् ।

माङसेबुङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको संयुक्त गठबन्धन थियो । वडा नम्बर १ मा भने एमाले र माओवादी केन्द्रको गठबन्धन थियो ।

१२ हजार ५ सय ६८ मतदाता रहेको माङसेबुङमा ८ हजार ३ सय ७ मत खसेको थियो ।