झापाका सबै जनप्रतिनिधी एमालेमै

सेयर गर्नुहोस्

झापा, भदौ १७
झापाका सबै जनप्रतिनिधी एमालेमै रहने भएका छन् । आज सम्पन्न नेकपा एमालेको जिल्ला सचिवालय बैठकमा भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्र श्रेष्ठ, अर्जुनधारा नगरपालिकाका प्रमुख हरि राना लगायतका जनप्रतिनिधी सहभागी रहेका थिए । श्रेष्ठ बिगतमा माधव नेपाल निकट भनिएको कमिटीको जिम्मेवारीमा थिइन् । तर एमाले २०७५ जेठ २ मा फर्किएपछि उनी एमाले उपसचिवकै जिम्मेवारीमा फर्किएकी हुन् । एमाले जिल्ला कार्यालय सचिव शिवकुमार ढुंगेलले सचिवालयमा रहेका २ जना बाहेक सबै सदस्यहरु बैठकमा सहभागी रहेको बताए । उनका अनुसार झापाका सबै जनप्रतिनिधी एमालेमै रहने भएका छन् । सचिवालय सदस्य मणिकुमार भण्डारी बैठकमा अनुपस्थित रहेका थिए । बैठकले २१ गते जिल्ला कमिटीको पूर्ण बैठक बोलाउने र २७ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । यस्तै बैठकले जनबर्गिय संगठनलाई व्यवस्थापन, तोकिएको मितिमा स्थानीय अधिवेशन गर्ने निर्णय गरेको छ । बैठकमा केन्द्रीय सदस्यहरु देवेन्द्र दाहाल, रविन कोइराला, हिक्मत कार्की, हरि राजबंशीले निर्देशन दिएका थिए ।
बैठकमा सहभागी नभएका भण्डारीले नयाँ पार्टी पनि नसमातेको बताएका छन् । उनले भने, नयाँ पनि समातिएको छैन, पुरानो चहीँ छाड्दै गएको चहीँ पक्कै हो ।