अक्सिजन उत्पादन गर्दै मेची अस्पताल

सेयर गर्नुहोस्

झापा, असार १९
मेची प्रादेशिक अस्पतालले एक साताभित्रै दैनिक ३५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट सञ्चालनमा ल्याउने भएको छ ।

दुईदिनभित्र प्लान्टको जडान कार्य सम्पन्न हुनेगरी निर्माण कार्य भइरहेको र लगत्तै अक्सिजन उत्पादन गरिने भएको हो ।

प्रदेश नं. १ सरकारको रु. एक करोड सहयोगमा अक्सिजन प्लान्ट निर्माण भएको र यसै सातादेखि अक्सिजन उत्पादन सुरु हुने अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले बताए ।

प्लान्ट खरिदमा मात्रै रु. ५५ लाख खर्च भएको र अरु बजेट प्लान्ट राख्ने अलग कोठा निर्माण र सिलिन्डर खरिदलगायतमा खर्च हुने उहाँले जानकारी दिए ।

अस्पतालले असार मसान्तभित्र सीटी स्क्यान मेसिन समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ । सीटी स्क्यान सञ्चालनका लागि सरकारले रु. ६ करोड सहयोग गरेको छ ।

हाल ५ वटा मृगौला डाइलासिस मेसिन रहेको अस्पतालले चालु आर्थिक वर्षभित्रै थपेर १५ वटा पुर्याउने र छुट्टै भवनमा सञ्चालन गर्ने अध्यक्ष पोर्तेलले बताए ।

साविक मेची अञ्चलको सबैभन्दा ठूलो सरकारी अस्पतालको रुपमा रहेको भद्रपुरको मेची अस्पतालले झापा, इलाम, पाँचथर र ताप्लेजुङका विरामीलाई उपचार सेवा पुर्याउँदै आएको छ ।

नयाँ भवनमा सञ्चालन हुन थालेपछि मेची अस्पतालको डाइलासिस मेसिनबाट एकैपटकमा ४५ जना मृगौला रोगीलाई डाइलासिस सेवा पुर्याउन सकिने भएको छ ।