झापामा निषेधाज्ञा खुकुलो, सरकारी कार्यालय खुल्ने

सेयर गर्नुहोस्

झापा, असार १४
जिल्ला प्रशासन कार्यालय झापाले कोरोना संक्रमणका कारण लगाएको निषेधाज्ञा थप खुकुलो बनाएको छ । अब भोलीदेखि झापाका सरकारी कार्यालय सञ्चालन हुने छन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाद्धारा आज जारी निषेधाज्ञा सम्बन्धिको आदेशमा आउँदो एक साताका लागि भोली ( १५ असार) देखि लागू हुने उल्लेख छ । हाल व्यापार व्यवसायका लागि दिउँसो १२ बजे सम्म मात्रै खुल्ला छ । आज ( सोमबार) जारी आदेश संगै मंगलबार ( भोली) देखि बेलुका ३ बजे सम्म व्यापार व्यवसाय सञ्चालन हुनेछ भने सरकारी तथा सार्वजनिक संस्था, बीमा संस्था लगायतका कार्यालयहरुले आलोपालो प्रणालीबाट भिडभाड नगरी स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गरेर कार्य सम्पादन गर्न पाउनेछन । व्यापार व्यवसायको हकमा होटल तथा रेष्टुरेँन्टहरुले यस अघिकै टेक अवे सेवा मात्रै सञ्चालन गर्न पाउनेछन भने अत्यावश्यक बाहेकका सवारी साधनहरु बाहेक निजी सवारी साधन, सिटी सफारी र अटो रिक्सा आवश्यक सुरक्षाका मापदण्ड अपनाएर जोरबिजोर प्रणालीमा सञ्चालन हुनेछन । बैंक तथा वित्तिय संस्थाहरु सञ्चालन हुनेछन । सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जन स्थल, पार्क, सैलुन, ब्युटी पार्लर, जीमखानालगायत भने बन्द नै रहने निर्णय डीसीसीएमसीले गरेको छ । हवाई यात्रा गरेका ÷गर्ने यात्रुहरुलाई हवाई टिकट वा बोडिङ पास देखाएर विमानस्थलसम्म जान तथा विमानस्थलबाट गन्तव्यसम्म जान ट्याक्सि प्रयोग गर्न पाउने निर्णय गरेको छ । धान रोप्ने समय सुरु भएकाले खेत जोत्न प्रयोग हुने ट्रयाक्टर सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । प्रशासनले बैंक तथा वित्तीय संस्थालाई न्यूनतम कर्मचारीको उपस्थितिमा स्वास्थ्य मापदण्ड पालन गरी सञ्चालन गर्न निर्देशन दिएको छ ।