कोसी अस्पतालमा अक्सिजन प्लान्ट चलाइने

सेयर गर्नुहोस्
  • 29
    Shares

विराटनगर, बैशाख १७
विराटनगरको कोसी अस्पतालमा छुट्टै अक्सिजन प्लान्ट राखिने भएको छ । अमेरिका नेपाल मेडिकल फाउन्डेशनको सहयोगमा प्लान्ट राख्न लागिएको हो ।

कोसी अस्पताल विराटनगरले अक्सिजन प्लान्ट राख्नका लागि संरचना तयार गरिसकेको छ । मेसिन आउन केही समय लाग्ने कोसी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए । सहयोगी संस्थाले बैशाख अन्तिमसम्म प्लान्ट विराटनगर ल्याउने आश्वासन दिएको उनले बताए । ‘बैशाख अन्तिमसम्म मेसिन आउने जानकारी पाएका छौं, संरचना यहाँ तयारी अवस्थामा छ,’डाक्टर दासले भने,‘फाउन्डेशनले जतिसक्दो चाडै पठाउने बचन दिएको छ ।’ कोरोना महामारीको दोस्रो लहर सुरुभएसँगै अक्सिजनको खपत बढेकाले सहयोगी संस्थालाई चाडो मेसिन उपलब्ध गराउन आग्रह गरिएको उनलेन बताए । दैनिक एकसय सिलिण्डर उत्पादन गर्ने अक्सिजन प्लान्ट राख्न लागिएको उनले बताए । अक्सिजन प्लान्ट नहुँदा निजी उद्योगले उत्पादन गरेको अक्सिजन खपत गरिरहेको उनले बताए ।