झापाको दमकमा बाल अस्पताल खुल्ने

सेयर गर्नुहोस्

दमक/झापाको दमकमा चाँडै नै दमक बाल अस्पताल खुल्ने भएको छ । काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थको संयोजनमा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको भवनमा सो अस्पताल खुल्ने भएको हो । सामुदायिक अस्पतालका रुपमा खुल्ने यो अस्पताल राजधानी बाहिरको पहिलो गैरनाफामूलक सुविधासम्पन्न बाल अस्पताल हुने भएको छ ।
अस्पतालका लागि आधारभूत तयारी गर्ने क्रममा बिहीबार काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइराला, करुणा फाउण्डेशनका संयोजक दीपक सापकोटा, मेची अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डा. टंक बारकोटी, आम्दा अस्पतालका डा. नविन ढकाल, दमक अस्पतालका बालरोग विशेषज्ञ डा. जयमणि श्रेष्ठ, प्रदेश नम्वर १ का अर्थ मन्त्रायलका सचिव उत्तर कुमार खत्री, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्की, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, दमक नगरपालिकाकी उपप्रमख गीता अधिकारी लगायतले निरीक्षण भ्रमण गरे । त्यसअवसरमा हाल रेडक्रसमा रहेको भौतिक संरचना, ३ वटा एम्बुलेन्स, प्रयोगशालाबाट बाल अस्पताल खोल्न सहज हुने भन्दै नयाँ अस्पतालको लागि तयारी बारे छलफल भएको रेडक्रस दमक उपशाखाका सभापति प्रकाश बुढाथोकीले जानकारी गराए । छलफलका क्रममा प्रदेश सरकार र स्थानीय तहको सरकारबाट पनि बाल अस्पताल खोल्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता सरकारी अधिकारीहरु र दमक नगर उपप्रमुखले जनाएका थिए । त्यसक्रममा रेडक्रस दमक उपशाखाका पदाधिकारी र सदस्यहरुको पनि उपस्थिति रहेको थियो भने अस्पताल स्थापनाका लागि सहभागी सबै पक्षको समन्वय र सहयोग रहने जनाइएको थियो ।