दमकमा निषेधाज्ञामा कडाइ (फोटो फीचर सहित)

सेयर गर्नुहोस्
  • 71
    Shares

दमक/  आज मध्यराती देखि आशिंक किसिमको निषेधाज्ञा लागू भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले कोरोना संक्रमण तथा रोकथामका लागि लगाएको निषेधाज्ञामा अत्यावश्यक बाहेकका काममा हिंडडुल गर्न रोक लगाइएको छ ।

त्यस्तै सवारी साधन सञ्चालनका लागि जोर विजोर प्रणाली लागू गरिएको छ । जोर गते ( जस्तै २०, १२, ०२ गते) जोर नम्बर भएका सवारी (जस्तै मे १ प २२३४, बा ११ च ४४२, ३८८) र विजोर गते (जस्तै ३, ५, ७, ९ , १९, २१ ) का दिन ( जस्तै मे १ प ३, ११, १३, १९, २१ ) नम्बरका मात्रै सवारी साधन सञ्चालन गर्न पाइनेछ ।  आज पहिलो दिन वैशाख २० अर्थात जोर गते भएकाले जोर नम्बर भएका सवारी साधन मात्रै सञ्चालन हुन पाउनेछन । दमकमा निषेधाज्ञाको समयमा जोर विजोर प्रणाली उल्लंघन गर्ने सवारी साधनलाई धमाधम नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले दमक र आसपासका १५ स्थानमा प्रहरी टोली खटाइएको जानकारी दिए । प्रहरीले जोर विजोर प्रणालीको उल्लंघन गर्ने सवारीलाई नियन्त्रणमा लिएर कारवाही गर्ने डिएसपी कार्कीले बताए । त्यस्तै दमकमा बिहान ११ बजे सम्म खाद्यन्न तथा दैनिक उपभोग्य सामान किनमेलका लागि समय तोकिएको र बिहान ११ बजे पछि पूर्ण रुपमा बजार बन्द रहने जनाइएको छ । इलाका प्रहरी कार्यालय दमक, दमक नगरपालिका र दमक उद्योग वाणिज्य संघले पनि छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गरेर आजदेखि लागू गरिएको निषेधाज्ञा कार्यान्वयनमा सहयोग गर्न अपिल गरेका छन । दमक नगरपालिकाकी प्रवक्ता एवं उपप्रमुख गीता अधिकारीले कोरोना संक्रमण फैलिन नदिन सबै खाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका काममा बाहिर हिंडडुल नगर्न आग्रह गरिन ।

निषेधाज्ञाको समयमा जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने अत्यावश्यकीय बाहेकका सबै सेवाहरु बन्द गरिएको जनाइएको छ । प्रशासन कार्यालयबाट नागरिकता , राहदानी जारी गर्ने, संघ संस्था दर्ता तथा नविकरण, हातहतियार नविकरण लगायतका कामहरु निषेधाज्ञाको समयमा हुनेछैनन । त्यस्तै राष्ट्रिय परिचय पत्र, नाबालक परिचय पत्रसंग सम्बन्धित सेवा पनि यस अवधिमा स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शान्ति सुरक्षासंग सम्बन्धित निवेदन तथा मुद्धाहरु र अन्य अत्यावश्यकीय सिफारिस मात्रै प्रदान गरिने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।


त्यस्तै मालपोत कार्यालय दमकले पनि सूचना प्रकाशित गरेर निषेधाज्ञाको समयमा सेवा प्रवाह बन्द गरिएको र आन्तरिक , प्रशासकिन कामहरु मात्रै हुने जनाएको छ ।