पछिल्लो २४ घण्टामा दुई वृद्धा र चार पुरुषको मृत्यु

सेयर गर्नुहोस्
  • 11
    Shares

विराटनगर / कोरोना सङ्क्रमणका कारण छ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा दुई वृद्धा र चार पुरुषको मृत्यु भएको हो ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराट मेडिकल कलेज, नाबेल मेडिकल कलेज र होम आइसोलेसनमा एक–एक जनाको मृत्यु भएको हो ।

विराट मेडिकल कलेजमा सुनसरीको इटहरीकी महिलाको मृत्यु भएको छ । कोभिड–१९ उपचार केन्द्रका इञ्चार्ज सुनिल देवका अनुसार सुनसरीको इटहरी–४ की ६२ वर्षीया महिलाको बुधबार राति १०ः४० बजे मृत्यु भएको हो ।

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा झापाको अर्जुनधारा–६ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । बिहीबार बिहान ६ बजे पुरुषको मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि वैशाख ४ गते उनी अस्पताल भर्ना भएका थिए । मृतकमा श्वासप्रश्वास र ज्वरोको समस्या रहेको कोभिड अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले बताए ।

नोबेल मेडिकल कलेजमा सिरहाको गोलबजार–१२ का ४८ वर्षीय पुरुषको मृत्यु भएको छ । बुधबार राति करिब साढे १० बजे भर्ना भएका पुरुषको दुई घण्टापछि मृत्यु भएको कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जनाको मृत्यु भएको छ । सप्तरीका २४ वर्षीय युवक र धनुषाका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डाक्टर चुरामणि पोखरेलका सप्तरीका युवकको उपचारका क्रममा आज बिहान करिब १२ः१० मा मृत्यु भएको हो । धनुषाका ६० वर्षीय पुरुषको बुधबार करिब साढे ३ बजे मृत्यु भएको हो ।

मृतक युवकमा वैशाख ९ गते कोरोना पोजिटिभ देखिएको थियो । मधुमेहका बिरामी युवकलाई वैशाख १३ गते सोमबार प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो ।

धनुषाका ६० वर्षीय पुरुषमा वैशाख १० गते सङ्क्रमण पुष्टि भएपछि प्रतिष्ठानमा भर्ना गरिएको थियो । मधुमेहको समस्याबाट पीडित बिरामीको अवस्था गम्भीर हुँदै गएपछि बुधबार अपरान्ह सवा ३ बजे मृत्यु भएको थियो ।

कोरोना सङ्क्रमणका कारण सुनसरीको इनरुवामा वृद्धा महिलाको मृत्यु भएको छ । इनरुवा नगरपालिका–३ की ८४ वर्षीय वृद्धाको बुधबार बेलुका मृत्यु भएको हो । वडाअध्यक्ष कालुराम गुरुङका अनुसार नोबेल मेडिकल कलेजमा जाँच गर्दा वृद्धामा कोरोना पोजेटिभ देखिएको थियो । मृतक वृद्धाको घरका सात जनालाई कोरो सङ्क्रमण पुष्टि भएको उनले बताए ।