काठमाण्डाै, भदाै २०
हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा केही पर दक्षिण तर्फ रहेको छ । हाल प्रदेश नं १ र सुदुरपश्चिम प्रदेशमा पूर्णतया बदली भई बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्यतया बदलीको आवस्था रहेको छ ।
प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज विहान ६ बजे मापन भएको रेकर्ड अनुसार पछिल्लो ३ घण्टा ईलाम, झापा, मोरङ, बर्दिया, बाँके, कैलाली, कञ्चनपुर र डडेलधुराका केही स्थानमा अति ठुलो बर्षा भएको र थप हुने सम्भावना रहेको छ ।
बाँके र बर्दियालगायतका जिल्लामा भई बहने स–साना नदीमा आकस्मिक बहावको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राती देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै प्रदेश १, गण्डकी प्रदेश, र प्रदेश नं ५ का एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।