झापा, साउन २१
एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरबाट झापाको कनकाई–४ कोटीहोममा स्थापित पीसीआर परीक्षण प्रयोगशाला मेची प्रादेशिक अस्पताल भद्रपुरले सञ्चालन गर्ने भएको छ ।
मंगलबार अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति र अभियानकर्मीबीच भएको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । अभियानले अस्पताललाई प्रयोगशाला हस्तान्तरण गर्नेछ ।
प्रयोगशाला सञ्चालनका लागि अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वीकृति लगायतका प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।प्रयोगशाला सञ्चालन गर्न चाहिने जनशक्ति कनकाई नगरपालिकाले व्यवस्थापन गर्नेछ ।
सञ्चालनको दैनिक व्यवस्थापन मेची अस्पतालले गर्ने छ । अभियानका संयोजक महेन्द्रकुमार गिरीले सरकार–समुदाय–सहकारी अभियान र निजी क्षेत्रको साझेदारीमा प्रयोगशाला स्थापना भएको बताए ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले जिल्लाका सबै पालिकाहरुसँग समन्वय गरेर ल्याव सञ्चालनका लागि आइपर्ने जिम्मेवारी वहन गर्ने बताए । अभियानका तर्फबाट बैठकमा सह संयोजक विनोद बस्नेत, सदस्य घनश्याम अधिकारी, सजेश शिवाकोटी, एकराज गिरी र भोला धिताल सहभागी थिए ।
एकका लागि एक अभियानको अगुवाईमा ल्याव स्थापनाका लागि कनकाई नगरपालिका, अन्तर्राष्ट्रिय झापाली समाज, सहकारी अभियानका तर्फबाट जिल्ला सहकारी संघ, निजी क्षेत्र तथा सामाजिक संस्थाले साझेदारी गरेका छन् ।