झापा, साउन १५
समुदायमा कोरोना संक्रमण देखिएपछि सिल गरेको बाह्रदशी गाउँपालिकाले अझ कडाई गर्दै निशेधाज्ञा लगाउने तयारी गरेको छ ।
समुदायका थप ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएमा निशेधाज्ञा लगाउने तयारी गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । जिल्लामा पहिलो पटक बाह्रदशी गाउँपालिकामा समुदायका दुई ब्यक्तिमा कोरोना सरेको हो । संक्रमित हुनेहरुमा एकजना राजनीतिक कार्यकर्ता र अर्का स्वास्थ्यकर्मी रहेका छन् । बाह्रदशी ३ का नेकपाका कार्यकर्ता तथा निजी क्लिनिक र फार्मेसी संचालन गरेका वडा नं २ का स्वास्थ्यकर्मीलाई तीन दिनअघि संक्रमण देखिएको थियो । समुदायमा संक्रमण देखिएपछि गाउँपालिकाले त्यसको भोलिपल्टदेखि वडा नं १,२ र ३ सिल गरेको छ । ती संक्रमितहरुको सम्पर्कमा आएका परिवारका सदस्य , नातागोता, साथीसंगत गरी ४१ जनालाई कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो । त्यसको रिपोर्ट विहिवार आउने भएको छ । रिपोर्टले थप समुदायका ब्यक्तिलाई कोरोना देखाएमा निशेधाज्ञा लगाउने तयारी गरिएको गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए । बाह्रदशीमा कोरोना संक्रमितको सँख्या १४ पुगेको छ ।
यस्तै बाह्रदशी गाउँपालिकाका दुईजना कोरोना संक्रमितहरु कामका सिलसिलामा बिर्तामोड आएको पुष्टि भएपछि समुदायमा संक्रमण फैलिन सक्ने संभावनालाई मध्यनजर गरी बिर्तामोड नगरपालिकाले निशेधाज्ञा लगाउने तयारी गरेको छ ।
कोरोना भाइरस महामारी रोकथाम तथा राहत व्यवस्थापन नगरस्तरीय समिति बिर्तामोडको आज बसेको बैठकले कोरोना संक्रमण समुदायमा सरेको पुष्टि हुने बित्तिकै निशेधाज्ञा लगाउने निर्णय गरेको हो । बैठकमा समुदायमा संक्रमण सरेको पुष्टि हुने बित्तिकै निशेधाज्ञा लगाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको नगरपालिकाका नगर उपप्रमुख पवित्रा महतारा प्रसाईले बताईन् । बाह्रदशीका संक्रमितहरुको सम्पर्कमा आएकाहरुलाई पहिचान गरी बिर्तामोड नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ शुरु गरेको छ । बाह्रदशीका संक्रमितहरुको सम्पर्कमा आएका बिर्तामोडका ७० जनाको नामावली तयार गरी उनीहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए । उनले ती आशंकितहरुलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।
‘कन्ट्याक्ट ट्रेसिङको रिपोर्ट पोजिटिभ आउने बित्तिकै निशेधाज्ञा लागू गर्छौ’ उप–प्रमुख प्रसाई भनिन् । त्यस्तै कोरोना संक्रमणप्रति उच्च सतर्कता अपनाउँदै भीडभाड नगर्ने, बेलुका ५ बजेदेखि बजार बन्द गर्ने , आफै संवेदनशील भएर भीड घटाउने, शंकास्पद संक्रमितहरुको पहिचान गर्ने , सर्वसाधारणलाई सचेत गराउनेजस्ता निर्णय गरिएको उप–प्रमुख प्रसाईले बताइन् । बाह्रदशीका नेकपाका नेता तथा निजी क्लिनिक र फार्मेसी संचालन गरेका स्वास्थ्यकर्मीलाई तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूको यात्रा विवरणबारे सोधखोज गर्दा नेकपाका नेता साउन ५ गते बिर्तामोड आएको खुलेको छ । ती नेताले पार्टी सदस्यताको फायल नेकपाको बिर्तामोड पार्टी कार्यालयमा बुझाएका थिए । आफूसँग भेटघाट गर्नेको विवरण सम्झिएर साध्य नभएको धरानमा उपचाररत ती संक्रमितले बताएका छन् । पार्टी काम र सामाजिक संघसंस्थाको बैठकमा पनि उनको सहभागिता रहेको थियो । बिर्तामोड नगरपालिकामा हालसम्म ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ६ जना निको भएर घर फर्किसकेका छन् भने एकजना धरान र अर्का विराटनगरको आइशोलेसनमा उपचाररत रहेका छन् ।