अब मेची अस्पतालबाट पीसीआर परिक्षण, काेटिहाेममा सन्चालनकाे टुंगाे भएन

सेयर गर्नुहोस्

झापा, साउन ९
अब झापाको मेची अञ्चल अस्पतालमा पीसीआर प्रविधिबाट कोरोना परीक्षण सुरु हुने भएको छ । त्यसका लागि स्वीस सरकारले पीसीआर मेसीन हस्तान्तरण गरेको छ । झापा प्रदेश १ मै सबैभन्दा धेरै संक्रमित फेला परेको जिल्ला हो ।
एक कार्यक्रमबीच मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्यमन्त्री माननीय जसमाया गजमेरसमेत सहभागी भई स्विजरल्याण्ड सरकारका प्रतिनिधि अमन गोन्छेबाट प्रदेश सरकारलाई पीसीआर मेसिन शुक्रबार नै हस्तान्तरण भएको हो ।
स्विस सरकारले उपलब्ध गराएकामध्ये एउटा मेसिन शुक्रबार झापा पठाइएको छ । मेसीन हस्तान्तरणमा प्रदेश सांसद बसन्त बानियाँले ं भने,“साउन १२ गते जडान गरे लगत्तै संचालनमा ल्याउने तयारी गरिएको छ ।” सांसद बानियाँका अनुसार मेची अस्पतालमा संचालन गरिने ल्याबको पूर्वाधार सबै तयार भइसकेको छ ।
हस्तान्तरण भएका अत्याधुनिक मेसिन शुक्रबार नै मेची अस्पतालमा लाने निर्णय भएको र यसको दैनिक परीक्षण क्षमता ९० रहेको बताइएको छ । मेची अस्पतालमा ल्याब संचालन गर्न प्रदेश सरकारसमक्ष सांसदहरुले ध्यानाकर्षण गर्दै आएका थिए । त्यस लगत्तै सामाजिक विकास मन्त्रीसहित प्राविधिक र चिकित्सकको टोलीले मेची अस्पतालमा ल्याब रहने स्थानको भौतिक पूर्वाधारबारे जानकारी लिई स्थानीयसँग छलफल गरेको थियो ।
यता समुदाय स्तरमा सन्चालनमा ल्याउने भनिएको पीसीआर ल्याब सन्चालनका लागि सरकारले स्वीकृति नदिएपछी राजनीतिक दलले विरोध गरेका छन् । स्वास्थ्य मन्त्रालयले ल्याबका लागि स्वीकृति नदिँदा एकका लागि एक अभियानले ल्याएको मेसीन थन्किने भएको हो । पीसीआर मेसीनका लागि चन्दा संकलन गरेर एक करोड २० लाख रुपैयाँ जम्मा गरिएको थियो । यो मेसीन कन्काइ नगरपालिकाको कोटिहोममा सन्चालनको तयारी थियो ।