शङ्कास्पद मृत्यु छानविनमा प्रहरीको लापरवाही, मिसिलमा अर्कै फोटो

सेयर गर्नुहोस्
  • 27
    Shares

उर्लाबारी, फागुन ११
मोरङको उर्लाबारीमा शङ्कास्पद मृत्यु भएका पुरुषको छानविनमा प्रहरीले लापरवाही गरेको भन्दै आफन्तले नाराबाजी गरेका छन् ।

शङ्कास्पद मृत्यु भएका उर्लाबारी–५ का प्रवीण बास्तोला मृत्युको अनुसन्धान प्रतिवेदन (मिसिल)मा फोटो परिवर्तन भएको पाइएपछि आफन्तले नाराबाजी गरेका हुन् ।

मोरङ उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बास्तोला गत पुस ५ गते मृत फेला परेका थिए । घटना अनुसन्धान गरेको प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन समितिको मिसिल बुझाउँदा मृतकको तीनवटा फोटो राखेको थियो । जसमा एउटा फोटो भने अरु नै व्यक्तिको थियो । फोटो परिवर्तन गरेर अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएका कारण वकिलको कार्यालयलले मुद्दा नचलाएको आफन्तको आरोप छ ।

मृत्यु शङ्कास्पद भन्दै आफन्तले पुस ९ गते उर्लाबारी–६ का ३१ वर्षीय राजेश रणपहेलीसहितका विरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएका थिए ।

प्रहरीले शङ्कास्पद भनिएका रणपहेलीलाई पक्राउ गरेको थियो । तर माघ २ गते उनलाई सरकारी वकिलको कार्यालयको निर्देशनपछि हाजिरी जमानीमा प्रहरीले छाड्यो । अनुसन्धान प्रतिवेदन अध्ययनपछि जिल्ला सरकारी वकिलको कार्यालयले अहिले नै मुद्दा चलाउन नमिल्ने भन्दै फाइल फिर्ता पठाएको थियो ।

मृतककी बहिनी सदीक्षाले इलाका प्रहरी कार्यालय उर्लाबारी पुगेर मिसिल हेर्दा मृतकको फोटो नै परिवर्तन भएको भेटेपछि आफन्त र स्थानीय प्रहरीको भूमिकाप्रति आक्रोसित हुँदै आन्दोलनमा उत्रिएका हुन् । आइतबार दिनभर प्रदर्शन गरेका आफन्तले सोमबार पनि इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षकको जिम्मेवारीमा उद्धव पोखरेल छन् । आफूले यो फोटो होइन भनेपछि हतारहतार प्रहरीले मिसिलमा रहेको फोटो र कागजात परिवर्तन गरेको बहिनी सदीक्षाको आरोप छ । प्रहरीले अपराधीलाई संरक्षण गर्न लागेको उनको आरोप छ ।

सेटिङ मिलाएर आफ्ना दाजुको हत्यामा संलग्नलाई छाडिएको उनले बताइन् । पोस्टमार्टम रिपोर्टमा छटपटीका कारण मृत्यु भएको उल्लेख भएको बताउँदै उनले प्रहरीले अपराधीलाई संरक्षण गर्न लागेको आरोप लगाइन् ।

प्रहरीले पनि फोटो भुलवस परिवर्तन भएको स्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले एउटा फोटो मिस्टेक भएको बताए । फाटो मिस्टेक भएको देखिएपछि तत्काल परिवर्तन गरी छानविनका लागि डिएसपी मानबहादुर राईको नेतृत्वमा टोली बनाइएको बताए ।

बस्तोलाको घटना सम्बन्धमा अनुसन्धानमा तथ्यमा फरक पर्ने गरी प्रमाण सङ्कलन गरेको घटनामा संलग्नलाई उन्मुक्ति दिने गरी अनुसन्धान भएको देखिए कारवाही गरिने उनले बताए ।

पीडितका अनुसार मिसिलमा मृतकको भनी चाँदीको सिक्री लगाएका अर्कै व्यक्तिको फोटो राखिएको थियो । मृत अवस्थामा फेला पर्दा उनको गलामा सिक्री थिएन । यद्यपि प्रहरीले अनुहार नै नचिनिने व्यक्तिको तस्बिर घटना मुचुल्कामा संलग्न गरेको आफन्तको आरोप छ ।

गत पुस ४ गते घरबाट निस्किएका प्रवीणको भोलिपल्ट राति करिब ११ बजे मत्यु भएको आफन्तलाई खबर पुगेको थियो । आफन्तले प्रवीणको शव गोदावारी अस्पतालमा फेला पारेका थिए । प्रवीणको योजनावद्ध रुपमा हत्या गरिएको आफन्तको आरोप छ । प्रहरीले फरेन्सिक रिपोर्ट आएपछि मात्रै थप विषय भन्न मिल्ने बताएको छ ।