गगन पुरीले बेचेका १९९ कित्ता जग्गा रोक्का

सेयर गर्नुहोस्
  • 46
    Shares

झापा, फागुन ३
‘झापाको बालुवाटार काण्ड’ भनेर चिनिने दमक नगरपालिका–१३ मा रहेको सरकारी सार्वजनिक जग्गा कीर्ते गरी आफ्नो नाममा ल्याई रेवतराज (गगन) पुरीले बेचेका १९९ रोपनी जग्गा रोक्का भएका छन्।

मालपोत र नापी कार्यालयका कर्मचारीसँग मिलेमतो गरी गगन पुरीले सरकारी जग्गा आफ्नो नाममा ल्याई बेचेका थिए। गगनसहित उनकै योजनामा आफन्तको नाममा ल्याई बेचेका १९९ कित्ता जग्गा किनबेचमा रोक्का गरिएको हो।

सम्पत्ति शुद्धीकरण विभागको सिफारिसमा मालपोत कार्यालयले यी जग्गाको किनबेच रोक्का गरेको हो। सम्पत्ति शुद्धीकरण विभागले गरेको अनुसन्धानमा कर्मचारीसँग मिलेर चलखेल गरी गगनले सार्वजनिक जग्गा आफ्नो नाममा ल्याएको पाइएको थियो।

गगनसहित उनकी श्रीमती केशावति पुरी, देवकुमार पुरी, मनमाया पुरीको नाममा ल्याई बेचिएका १९९ कित्ता जग्गाको किनबेच रोक्का गरिएको सम्पत्ति शुद्धीकरण विभागले जनाएको छ। जग्गाहरू भोग चलन गर्न कुनै बाधा नभएको तर किनेबचका लागि भने गगनविरुद्धको फैसला नआउन्जेलका रोकिएको विभागले जनाएको छ । 

भिबोर विकास बैंक लिमिटेड, युनिटी एन्ड होम मेकर प्रालि, पूर्वी किरण इन्भेस्टमेन्ट प्रालि, बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक लिमिटेड, एनबिडिएस सुपर मार्ट प्रालि गरी ६ कम्पनीसहित झन्डै डेढ सय जनाको नाममा रहेको १९९ कित्ता जग्गाको कारोबार रोक्का गरिएको हो। गगनको समूहले बेचेको १९९ कित्ता जग्गामा २ लाख ६५ हजार ५ सय १५ वर्गमिटर अर्थात झन्डै ४० बिगाहा जग्गा छ। 

योसँगै गगनको समूहले बेचेको जग्गा किन्ने व्यक्तिले यो मुद्दाको किनारा नलागेसम्म जग्गा किनबेच गर्न नपाउने भएका छन्। यी जग्गाहरु गगनको समूहले २०६६ सालदेखि बेच्दै आएको पाइएको छ। जग्गा अद्यावधिक गराउँदा कर्मचारीसमेतको मिलेमतोमा नेपाल सरकारको नाममा रहेको ऐलानी, पर्ती, झाडी, खोला र सडक समेतका जग्गाहरु व्यक्ति विशेषको नाममा दर्ता कायम गरी सरकारी सम्पत्ति गगनले हडपेका थिए। 

२०३९ सालभन्दा यी जग्गामा ८८ परिवार सुकुम्वासीको बसोबास थियो। पञ्चायतका अध्यक्ष डम्बर बहादुर अधिकारीको अगुवाइमा उक्त सरकारी भनिएको जग्गामा करिब ८८ घर सुकुम्वासीहरूको बसोबास गराइएको थियो। यसको क्षेत्रफल ६० बिगाहा थियो। 

नेपाल सरकारबाटै २०३९ सालमा गठन गरिएको सुकुम्वासी आयोगले ती जग्गा सुकुम्वासीहरु बसोबास गरेबमोजिम धनीपूर्जा दिने उद्देश्यले फिल्डबुक भराउने काम गरेको थियो। पछि नक्सा बनाई कित्ताकाट समेत गरी सुकुम्बासीको नाममा निस्सा प्रमाण दिलाएको थियो।

सुकुम्बासी बस्तीमा रतुवा खोला बगेपछि बस्ती विस्थापित भएको थियो। त्यही जग्गा पछि गगनले कर्मचारीको मिलेमतोमा आफ्नो नाममा पारी बेचेका थिए। सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउनका लागि नापी कार्यालय र मालपोत कार्यालयको ढड्डामा पाना समेत थप गरिएको अनुसन्धानबाट खुलेको थियो। नापी र मालपोत कार्यालयका खातामा पाना थप्न लगाएर कीर्ते धनीपूर्जा बनाइएको थियो। खोला किनारको सार्वजनिक जग्गाको कित्ता नम्बर नै परिवर्तन गरेर आफ्नो नाममा ल्याएर गगनसहितका व्यक्तिले बेचेका थिए।

जग्गाको नक्सामा जग्गाधनी दर्ता किताबमा उल्लेख भए भन्दा बढी क्षेत्रफलको नक्सा तयार गरी गगनले बेचेको निश्कर्ष विभागले गरेको छ। 

गगनले उदयबहादुर श्रेष्ठलाई समेत जोतभोग गरी आएको जग्गा भनि आफैले नापजाँच गराएर धनीपूर्जा लिनुहोला भनी नक्सामा देखिएको भन्दा बढी जग्गा समेत विभिन्न व्यक्तिलाई बिक्री गरी ठगी गरेको अनुसन्धानबाट खुलेको छ।  गगन नेकपाको प्रदेश १ कमिटी सदस्य हुन् भने तत्कालीन माओवादी केन्द्रबाट दमक नगरपालिकाका मेयरका उम्मेदवार समेत बनेका थिए। (नेपाल लाइभबाट)