देउवाले भने- भीम आचार्यलाई सहयोग गर्न सकिन्न

सेयर गर्नुहोस्
  • 8
    Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश एकमा मुख्यमन्त्री शेरधन राईलाई नै निरन्तरता दिने संकेत गरेका छन् । पार्टी नेताहरुसँगको भेटमा देउवाले प्रचण्ड–माधव पक्षले राखेको अविश्वास प्रस्तावको पक्षमा ‘मतदान’ गर्न अनिच्छा देखाएका हुन् ।

आफ्नै निवास बुढानिलकण्ठमा प्रदेश नम्बर एकबाट कांग्रेस केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरुसामु देउवाले अविश्वास प्रस्ताव पारित गरेर भीम आचार्यलाई मुख्यमन्त्री बनाउने पक्षमा आफू नरहेको बताएका छन् ।

देउवाले आचार्यलाई कांग्रेसप्रति अनुदार नेताको रुपमा चित्रण गर्दै सहयोग गर्न नचाहेको बताएका हुन् । उनलाई भीम आचार्यप्रति कसले नकारात्मक बनायो भन्ने चाहिँ प्रष्ट भएको छैन ।

‘भीम आचार्य कांग्रेस विरोधी मान्छे हो । उसले कांग्रेसलाई धेरै दुःख दिएको छ । हामीले कसरी मुख्यमन्त्री बनाउनु ?’ देउवाको भनाइ उधृत गदै एक नेताले भने ।

सभापति देउवाले प्रत्यक्ष रुपमा शेरधनको पक्षमा नबोलेपनि भीम आचार्यलाई अस्वीकार गरेको बैठकमा सहभागी ती नेताले बताए । शेरधनविरुद्ध अविश्वास प्रस्ताव दर्ता नेकपा प्रचण्ड–माधव पक्षले भीम आचार्यलाई वैकल्पिक मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरेका छन् ।

अविश्वास प्रस्ताव पारित भए आचार्य मुख्यमन्त्री बन्नेछन् । यद्यपि उनले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्नेछ । अविश्वास प्रस्ताव पारित हुन प्रदेशसभाका ४७ सांसदले मत दिनुपर्छ । आचार्यको पक्षमा नेकपामा ३३ सांसद छन् ।

देउवाको आशय प्रदेश एकमा शेरधनको निरन्तरता र बागमती प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउनेतर्फ लक्षित रहेको देखिन्छ । ओली पक्षसँग मिलेर देउवाले प्रदेशमा सरकार बनाउन खोजेको आशंका कांग्रेस नेताहरुको छ ।

‘भीम आचार्यप्रति सभापतिजी अनुदार देखिनुभयो । अविश्वास प्रस्ताव पारित भए कांग्रेसविरोधी मान्छे मुख्यमन्त्री बन्छ भन्ने उहाँको धारणा देखियो’, बैठकमा सहभागि एक नेताले भने ।

ती नेताका अनुसार आचार्यलाई कांग्रेसविरोधी नेताको रुपमा चित्रण गरेर सभापति देउवा अविश्वास प्रस्ताव असफल गराउन चाहन्छन् ।

एक नम्बर प्रदेशका नेताहरुसंगको छलफलको सुरुमै सभापति देउवाले नेताहरुलाई उपयुक्त सुझाव दिन आग्रह गरेका थिए । सुझाव दिने क्रममा अधिकांशले अविश्वास प्रस्ताव पारित गराउन मत दिनुपर्ने सुझाव दिएका छन् ।

यस्तो सुझाव दिनेमा देउवा पक्षकै नेताहरु समेत रहेका छन् । नेताहरु कृष्णप्रसाद सिटौंला, डा.मिनेन्द्र रिजाल भीष्मराज आङदेम्बे, गुरुराज घिमिरे लगायतले प्रतिपक्षी दल हुनुका नाताले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने बताएका थिए ।

‘त्यही इटहरी चोकमा केपी ओली विरुद्ध नाराबाजी गरेर नजिकैको प्रदेशसभामा केपी ओलीको मान्छेको पक्षमा मतदान गर्न सकिदैन’, बैठकमा देउवा पक्षका नेता आङ्देम्बेले भनेका थिए ।

बैठकमा सहभागि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेशहरुमा दर्ता भएका अविश्वास प्रस्तावबारे पार्टीले नीतिगत निर्णय लिनुपर्ने बताएका थिए ।