झापामा पुसमा दुर्घटनामा १५ जनाकाे मृत्यु

सेयर गर्नुहोस्
  • 21
    Shares

झापा, माघ ६
जिल्लामा हरेक वर्ष सडक दुर्घटना एवं त्यस्ता दुर्घटनामा ज्यान गुमाउनेहरूको सङ्ख्या बढ्दै गएको छ । विश्वका औद्योगिक मुलुकहरु ‘ट्रेड वार’ गर्न तम्सिँदै गर्दा हाम्रोजस्तो असमान भौगोलिक अवस्थिति भएका मुलुकमा सडक दुर्घटना मृत्युको कारक तत्व बन्दै गएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार विगत एक वर्षमा जिल्लामा ५४४ वटा सवारी दुर्घटनामा परी ७१ जनाले ज्यान गुमाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक यामकुमार खड्काका अनुसार सवारी दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल छन् । विसं २०७६ पुस महिनादेखि गत पुस मसान्तसम्ममा ३०६ मोटरसाइकल, ४५ ट्रक, ५८ कार, १९ बस, २३ ट्र्याक्टर, २५ टेम्पो, ६३ साइकल र अन्य पाँच गरी ५४४ वटा सवारी दुर्घटना भएको छ । सो सवारी दुर्घटनामा मृत्यु हुनेमा ५८ पुरुष, सात महिला र छ बालक रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परी सशक्त घाइते हुनेमा २५६ जना रहेका छन् । घाइते हुनेमा सबैभन्दा बढी पुरुष २०३, महिला ३७, बालक ११ र पाँच बालिका रहेका छन् । सहायक प्रहरी निरीक्षक खड्काले सबैभन्दा बढी दुर्घटना बेलुका करीब ५ देखि ८ बजेको बीचमा हुने गरेको बताउनुभयो । “चालकले मापसे गर्ने, साँझमा बत्तीको एन्टिलाइट पर्ने, द्रुत गतिमा सवारी चलाउँदा दुर्घटना बढ्यो”, उहाँले भन्नुभयो । उहाँले विगतमा भन्दा कोभिड–१९ बढेसँगै सार्वजनिक यातायातमा भन्दा बढी निजी सवारीमा सवार गर्नेको सङ्ख्यामा समेत वृद्धि भएको, साँघुरा सडकसँगै गरिने ओभरटेकका कारण पनि दुर्घटना बढेको अनुसन्धानमा देखिएको बताउनुभयो । विगत १२ महिनामध्ये सबैभन्दा बढी सवारी दुर्घटना गत पुसमा महिनामा भएको र सोही महिनामा मानवीय क्षति पनि बढी भएको उहाँले जानकारी दिनुभयो । पुस महिनामा भएको १६४ सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । सडकमा अनटेस्ट लेखिएका मोटरसाइकल र सवारी अनुमतिपत्र नै नलिई मोटरसाइकल चलाउनेका कारण पनि साँझपख दुर्घटना हुने गरेको उहाँको भनाइ छ । “यस्ता सवारीका कारण समस्या आइरहेको छ”, उहाँले भन्नुभयो, “दुर्घटना गराएर भाग्छन् । मानवीय भावनासमेत नभएका उनीहरुलाई सडकमा सिसी क्यामेरा नहुँदा पहिचान गर्न समस्या भइरहेको छ ।”