गाेपाल बुढाथोकी र श्रीप्रसाद मैनाली बामदेव तिर

सेयर गर्नुहोस्
  • 30
    Shares

झापा र, पुस २७: प्रदेश १ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई जना प्रदेशसभा सदस्य एकता अभियानमा लागेका छन् ।

नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएसँगै प्रदेश १ का सांसदहरु तानातानमा छन् । ओली समूहमा रहेका मुख्यमन्त्री शेरधन राई आफ्नो सरकार जोगाउने प्रयासमा छन् भने प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड–माधव समूह पनि बहुमत जुटाउने प्रयासमा छन् ।

नेकपाका दुई प्रदेशसभा सदस्य भने दुवै समूह छाडेर वामदेव गौतमतिर लागेका छन् । पार्टी विभाजनपछि कुनै समूहमा नलागेका उनले शनिबार मात्र आफ्नै संयोजकत्वमा नेकपा राष्ट्रिय एकता अभियान घोषणा गरेका थिए ।

गौतमले सुरु गरेको एकता अभियानमा झापाका दुई जना प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली जोडिएका छन् । बुढाथोकी र मैनालीसहित ७ जना स्थानीय नेताले संयुक्त वक्तव्य जारी गर्दै पार्टी विभाजनको पक्षमा नलाग्न र एकता अभियानमा जोडिन अपील समेत गरेका छन् ।

केन्द्रमा दुई लाइन देखिएपनि पार्टी वैधानिक रुपमा नफुटेका कारण केन्द्रलाई दबाव दिने उदेश्यले एकताका लागि आह्वान गरेको बुढाथोकीले बताए । आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै उनले मुख्यमन्त्री राई विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावका बारेमा थप कुनै निर्णय नभएको बताए ।

बुढाथोकीलाई ओली समूहले केन्द्रीय सदस्य बनाएको थियो, तर उनले त्यसलाई अस्वीकार गरे । दुबैले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।(अनलाइनखबर)