विभाजन पछी प्रहरीकाे सुरक्षामा नेकपाका कार्यालय

सेयर गर्नुहोस्
  • 23
    Shares

विराटनगर, पुस १९
नेकपा विभाजनपछि मोरङमा रहेका दुई पार्टी कार्यालय सुरक्षाका लागि प्रहरी टोली परिचालन भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि विभिन्न जिल्लामा पार्टी कार्यालयमा झडपको अवस्था सिर्जना भएपछि मोरङमा रहेको प्रदेश र जिल्ला कार्यालय सुरक्षाका लागि प्रहरी टोली परिचालन भएको हो ।

विराटनगर महानगरपालिका–११ पाञ्चालीमा रहेको जिल्ला कार्यालय र विराटनगर–२ तीनपैनीमा रहेको प्रदेश सम्पर्क कार्यालयमा प्रहरी टोली परिचालन भएको हो ।

पार्टी कार्यालयको सुरक्षाका लागि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई परिपत्र पनि गरिसकेको छ । कार्यालयको सुरक्षा र निगरानीका लागि अहिले हतियारसहितका र सादा पोसाकका प्रहरी परिचालन गरिएको छ ।

पार्टी कार्यालयका विषयलाई लिएर प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहबीच विवाद हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको स्रोतले बतायो ।

सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै कार्यालयको सुरक्षामा सतर्कता अपनाइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । सम्भावित भौतिक क्षति र सबैखाले अप्रिय घटना रोक्न पार्टी कार्यालयको निगरानी बढाइएको उनले बताए ।

मोरङमा नेकपाको कार्यालय प्रयोगका विषयलाई लिएर विवाद भएको छैन ।

विराटनगर तीनपैनी चोकमा रहेको रहेको प्रदेश कार्यालयमा नेकपा प्रचण्ड–माधव समूह र ओली समूहले पाञ्चालीमा रहेको मदन भण्डारी स्मृति भवनलाई पार्टी कार्यालयका रुपमा प्रयोग गरिरहेको छ ।

विभाजन अघिसम्म नेकपाको सम्पूर्ण काम–कारवाही, भेला, बैठकलगायतका गतिविधि पाञ्चालीमा रहेको कार्यालयबाट हुँदै आएको थियो ।

एकीकरणअघि तत्कालीन माओवादीले भाडामा लिएर प्रयोग गरिरहेको कार्यालय भवनबाट पार्टी विभाजनपछि अहिले दाहाल–नेपाल समूहले आफ्ना गतिविधि गरिरहेको छ । नेकपा निर्माणपछि भने यस कार्यालयलाई पार्टीको प्रदेश १ सम्पर्क कार्यालय बनाइएको थियो ।

पार्टीमा विभाजन आएपछि भने दाहाल–नेपाल समूहका नेता कार्यकर्ताले पाञ्चाली र ओली समूहले तीनपैनीस्थित कार्यालय टेकेका छैनन् ।

नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले आफूहरु संस्थापन पक्ष भएकाले पाञ्चालीको कार्यालयमा दाहाल–नेपाल समूहको हक नलाग्ने बताए ।

नेकपा केन्द्रीय सदस्य महेश रेग्मी बहुमत सदस्य भएकाले पार्टी कार्यालय प्रयोग आफ्नो पक्षको भएको बताए । ‘आधिकारिक रुपमा पार्टीमा बहुमत रहेकाले पार्टी कार्यालय हाम्रो हो,’ दाहाल–नेपाल समूहका उनले भने, ‘हिजो नेकपा एमालेको भए पनि भवनदेखि लिएर सबै सम्पत्ति अहिले नेकपाको हो ।’