प्रदेश १ः काङ्ग्रेसले नेतृत्व गर्न सक्ने सम्भावना छ- मुख्यमन्त्री

सेयर गर्नुहोस्

केही दिनयताका राजनीतिक घटनाक्रमको प्रभाव प्रदेश सरकारको काममा परेको छैन । तर एउटा अन्योल भने उत्पन्न गरेको छ । मन्त्रीहरूले छोडेपछि सम्बन्धित मन्त्रालयको जिम्मेवारी तोकेका छौँ । कुनै काम रोकिएको छैन । नियमित रूपमा चलिरहेको छ ।

सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि प्रमुख सचिव र सचिवलाई राखेर सबै विषय जानकारी गराएको छु । कतैबाट प्रभावित नभई नियमित काम गर्न निर्देशन गरिसकेको छु ।
यो परिस्थितिबाट आत्तिनुपर्ने अवस्था छैन । देशमा जस्तो राजनीतिक घटनाक्रम विकसित भयो । यसले अन्योल निम्त्याएको छ । नेकपाभित्रको विवाद विभाजनतर्फ उन्मुख भएको छ । वैधानिक प्रक्रिया बाँकी छन् ।

विवाद र समस्याका कारण प्रधानमन्त्री घेराबन्दीमा पर्नुभयो । बन्दकोठामा सम्झौता गर्न खोजिएपछि ताजा जनादेशमा जाने प्रधानमन्त्रीले निर्णय गर्नुभएको छ । ताजा जनादेशमा जाने निर्णयविरुद्ध आन्दोलन चलेका छन् ।

नेकपा विभाजनको प्रभाव प्रदेशमा देखियो । प्रदेशमा हतारो गर्नुपर्नेअवस्था थिएन । यो बेग्लै संवैधानिक संरचना हो । तर प्रस्ताव दर्ता भइसकेको छ । प्रदेशमा आक्रमण भएको छ । अविश्वासको प्रस्तावलगायत अनुचित प्रभाव छिटै किनारा लाग्छ ।

गणितमा कमजोर छैन

प्रदेशसभाका राजनीतिक दल र सांसदको साथ र समर्थनबाट अविश्वास प्रस्तावको प्रतिवाद आरामले गर्छु । विवेक गुमाएका केही सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । अहिले कसैलाई मुख्यमन्त्री नभई नभएको होला । कसैलाई कमिसन खानुपर्ने होला । सेटिङ मिलाउनुपर्ने होला । गलत महत्वकाङ्क्षा र लोभ–लालचको गठजोड हो प्रस्ताव ।

हिसाबको खेलोमा जोड–घटाउमा उहाँहरूले समय खर्च गरिरहनुभएको छ । मैले जोड–घटाउमा समय खर्च गरेको छैन । मेरो हिसाब मसँग छ ।

मुख्यमन्त्रीले काम गर्न नसकेर प्रस्ताव आएको होइन । अक्षम भएर, भ्रष्ट भएर पनि आएको होइन । केन्द्रबाट निर्देशित भएर आएको हो । यो प्रदेश संरचनामाथिको आक्रमण हो । यसको सामना मुख्यमन्त्रीले मात्र होइन सबैले मिलेर गर्नुपर्छ ।

संसद्भित्र अल्पमत र बहुमतको कुरा आएका छन् । त्यो केही दिनभित्र थाहा हुन्छ । म हिसाबमा त्यति राम्रो दखल राख्ने मान्छे होइन । तर हिसाबमा कहिले पनि फेल भएको छैन ।
पहिलो पटक मुख्यमन्त्री बन्दैगर्दा पनि हिसाबहरू सुन्नुभयो ? मिडियामा दैनिक हिसाबहरू छापिएका थिए । त्यसका बीच मैले दलमा चुनाव जितेँ । दलमा बहुमत अल्पमत जे होला । भोलि बास्तविक हिसाब थाहा हुन्छ ।

म विश्वासको मत लिन्छु । यो संवैधानिक व्यवस्था हो । प्रदेशमा ठूलो सङ्ख्याको समर्थन मसँग छ । अहिले अल्पमत, बहुमततिर नजाउँ होला ।

दलभित्रका ३७ जना सांसदको हस्ताक्षर प्रस्तावमा छ । ती हस्ताक्षर कसरी आए, कतिवटा हस्ताक्षर कायम हुन्छन्, कति थपिन्छन्, कति घट्छन् समय बाँकी नै छ । बिस्तारै थाहा हुन्छ ।
सम्पूर्ण हिसाब प्रदेशसभाको बैठकमा विषयले औपचारिक रूपमा प्रवेश पाएपछि बाहिर आउँछ । अहिले हिसाबको खेलोमा जोड–घटाउमा उहाँहरूले समय खर्च गरिरहनुभएको छ । मैले जोड–घटाउमा समय खर्च गरेको छैन । मेरो हिसाब मसँग छ ।

प्रस्तावित मुख्यमन्त्री भीम आचार्यलाई प्रदेशसभामा देखिनुभएन । कहिलेकाहीँ प्रदेशभामा १० पटके (हाजिरी) जोगाउन यसो अनुहार देखाउनुहुन्थ्यो ।

आरोपका लागि आरोप

अविश्वास प्रस्तावमा आरोपहरू लगाइएको छ । हेर्दा हाँस पनि उठ्यो, अप्ठेरो पनि अनुभव भयो । प्रस्ताव तयार गर्नेलाई संसदमा जवाफ दिन्छु । नामाङ्कन मुख्यमन्त्रीले मात्रै तोक्ने होइन । नामाङक्न त दुईतिहाइ बहुमतले तोक्ने हो नि । त्यो उहाँहरूलाई थाहा रहेनछ ।

हामीले राजधानी तोक्दै गर्दा नामाङ्कनको विषय अलिक पछि टुङ्गो लगाउने भनेर माइन्युट गरेका छौँ । गत अधिवेशनमा टुङ्गो लगाउने तयारी थियो । तर कोरोनाले गर्दा सकेनौँ । आरोपका लागि मात्रै आरोप आएका छन् ।

प्रदेशको आर्थिक अवस्था डामाडोल बनाएको कुरा पनि आएको छ । कसले सम्हालेको थियो आर्थिक मामिला तन्त्रालय ? मैले जिम्मा लिएको थिइनँ । तहसनहस कसले बनायो ? बिस्तारै थाहा हुन्छ । भ्रष्टाचार गर्नेमाथि डन्डा चलाउने म हो । सेटिङ गर्ने तत्त्व भत्काउने म हो । प्रमाणसहित आए एक घण्टाभित्र कारबाही गर्छु भन्ने म हो । कुन–कुन मन्त्रीलाई कति पटक वार्निङ गरेँ, स्पटीकरण सोधेँ, पछि विषय आउँछन् । खुल्छन् सबै कुरा । मैले कुनै प्रश्न उठ्ने खालको गल्ती गरेको छैन ।

धेरै कुराहरू म अहिले भन्दिनँ । म परिपक्क नेता हो । लामो इतिहास र संसदीय अभ्यास गरेर यहाँ आइपुगेको हुँ । उत्ताउलो पारामा म बोल्न चाहन्न ।

काङ्ग्रेसले दाबी गर्न सक्छ । दुईवटा प्रदेशमा काङ्ग्रेस निर्णायक बनेको छ । एउटामा दाबी गर्न सक्छ ।

हाम्रो आर्थिक मामिला मन्त्री निकै अगाडि झन्डावाला गाडीमा झापामा एउटा कार्यक्रममा सरकारविरुद्ध दिएको मन्तब्य सुनेँ । कम्तीमा नैतिक मूल्यको हेक्का राख्नुपर्छ । सरकारमा बसेर सरकारकै विरोध गर्ने ? त्यति बेलै हटाउनुपर्थ्यो तर कहिलेकाहीँ उत्ताउलोपना आउँछ, आत्मआलोचित हुनुहोला भन्ठानेको थिएँ । तर मुख्यमन्त्री हटाउने कुराको अगुवाई नै गरेपछि पदमुक्त गरियो ।

काङ्ग्रेसले नेतृत्व पाउन सक्छ

प्रदेशमा दुवै पक्षसँग बहुमत छैन । काङ्ग्रेस तानातानमा छ । तर काङ्ग्रेसले सही निर्णय गर्नुपर्छ । गलत प्रयास गलत उद्देश्य र गलत तरिकाबाट आएका कुरालाई असफल तुल्याउने कुरामा नेपाली काङ्ग्रेस उभिन्छ । उभिनुपर्छ । नेतृत्वको विषयमा छलफल हुन्छ ।

प्रदेश १ मा काङ्ग्रेसले नेतृत्व पाउने सम्भावना कम छ । तर सम्भावना छँदैछैन भन्ने होइन । काङ्ग्रेसले दाबी गर्न सक्छ । दुईवटा प्रदेशमा काङ्ग्रेस निर्णायक बनेको छ । एउटामा दाबी गर्न सक्छ । यस प्रदेशमा सम्भावना अलिक कम छ ।

सांसद तान्ने खेलोमा छैन

पद जोगाउनका निम्ति मन्त्री बाँड्ने, पैसा बाँड्ने, लोभ देखाउने काम हुन सक्दैन । माननीय सदस्यले विश्वास छैन भन्नुभयो भने आरामले बस्छु ।

सांसद तान्न खोजेको, मन्त्री पदको, पैसाको प्रलोभन देखाएको भन्ने कुरा पनि सुन्दै छु । मबाट त्यस्तो प्रकारको अनुचित, अनैतिक खालका प्रयासहरू कहिल्यै हुन सक्दैन । त्यस प्रकारको तरिकाबाट यहाँ आएको मान्छे होइन । सङ्घीयता र संविधानलाई कार्यान्यन गर्न आएको हो ।
मुख्यमन्त्रीमा नाम लेखाउन आएको होइन । मुख्यमन्त्री भएर सेटिङ मिलाएर कसिसन खान, घरजग्गा जोड्न यहाँ आएको होइन ।

माथिल्लो सरकारमा पनि बसिसकेको छु । सङ्घीयतालाई कार्यान्वयन गर्ने जिम्मेवारीसहित आएको हुनाले मबाट मुख्यमन्त्री पद जोगाउनका निम्ति मन्त्री बाँड्ने, पैसा बाँड्ने, लोभ देखाउने काम हुन सक्दैन । माननीय सदस्यले विश्वास छैन भन्नुभयो भने आरामले बस्छु ।

प्रस्तावित मुख्यमन्त्री भीम आचार्यलाई प्रदेशसभामा देखिनुभएन । कहिलेकाहीँ प्रदेशभामा १० पटके (हाजिरी) जोगाउन यसो अनुहार देखाउनुहुन्थ्यो । सल्लाहअनुसार काम नगरेको भन्नुभएछ । तर उहाँले आजसम्म सल्लाह दिनुभएको छैन ।

(कुराकानीमा आधारित)