घुस लिएको आरोपमा दमकका ४ प्रहरी निलम्बनमा

सेयर गर्नुहोस्

झापा, असोज १०
झापाको दमकबाट ४ जना प्रहरी निलम्बनमा परेका छन् । मल व्यवसायी सँग पैसाको लेनदेन गरेको भेटिएपछी एक जना असइ, हवल्दार, जवान र एक जना ट्राफिक प्रहरी निलम्बनमा परेका हुन् ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी बिजयराज पण्डितका अनुसार बिल बिना युरिया मल ल्याउदै गरेको ट्याक्टर ताराबारी ढाटमा बसेका प्रहरीले समातेका थिए । तर माथिल्लो तहमा खबरै नगरि भोलीपल्टै छाडेका थिए । पण्डितले भने, प्रहरीको चेन अफ कमाण्ड उल्लघंन गरेको भनेर निलम्बनमा राखिएको छ, अरु बिस्तृत अनुसन्धानबाट खुल्ने छ ।
यथार्थ विवरण उपल्लो तहमा विवरण पेश नगरेको आरोप उनीहरुमा छन् । असइ भरत कोइराला सहित हवल्दार शिवचन्द्र मुखिया, जवान भिमलाल चौधरी र ट्राफिक प्रहरी जवान मनकुमार रुचाल प्रहरी निलम्बनमा परेका हुन् ।
भदौ २४ बेलुका ताराबारीमा उनीहरुले ट्याक्टर समातेका थिए । उनीहरुले ६५ हजार रुपैयाँ लिएर ट्याक्टर छाडेको आरोप छ । डिएसपी पण्डितका अनुसार घटनाको अनुसन्धान भइरहेकाले अहिले यर्थाथ बुझ्ने काम भइरहेको छ ।