बन्ने भयो लालपानीमा पुल

सेयर गर्नुहोस्
  • 38
    Shares

झापाको कमल गाउँपालिका २ का खेमराज रिजालले लालपैनी खोलामा पुल बन्छ भन्ने सुनेको बर्षौ भयो ।

त्यही पुलको आशामा उनी र उनी जस्ता धेरैले धेरै वटा निर्वाचनमा भोट माग्न पुगेका नेताहरूलाई भोट दिएर चुनाव जिताएर पठाए, तर पुल बनेन । झापाको गौरादह नगरपालिका वडा नम्बर १ र कमल गाउँपालिका वडा नम्बर २ लाई जोड्ने लालपैनी खोलामा पुल नहुँदा स्थानीयले भोग्नुपरेको सास्ती भनिसाध्य छैन ।

रिमाल भन्छन्, “यहाँ पुल बन्छ बन्छ भनेको बर्षौ भयो । पुल नहुँदा स्थानीय जोगीचौनका बासिन्दा बिरामी परे अस्पताल पुर्‍याउन पनि समस्या छ । केहीको त यही खोलामा डुबेर ज्यानै समेत गयो । हिउँदमा त बाँसको अस्थायी पुल हाल्छौँ तर बर्खामा कपडा खेलेर पौडिँदै पारी तर्नुको अर्को विकल्प हुन्न ।”

यस्तै यो खोलामा पुल हाल्नुपर्छ भनेर धेरै जना नेतालाई ल्याएर देखाएको बताउँदै स्थानीय समेत रहनुभएका तोपगाछी धरमपुर मैत्री समाज काठमाण्डौका अध्यक्ष यज्ञराज न्यौपाने भन्छन्, “यहाँबाट सिपी मैनालीलाई जितायौँ, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि धेरै पटक जिताएर पठायौँ, तर मुलुकमा अस्थायी सरकार भएका कारण विगतमा केही हुन सकेन ।”

बाल्यकालमै यो खोलामा पुल बन्छ भन्ने सुनेकाहरू अहिले वयस्क भईसके तर कतैबाट पुल निर्माणका लागि तातो लागेको थिएन । बल्ल अब भने यो स्थानमा पक्की पुल बन्ने भएपछि यहाँका स्थानीयको खुसीको सिमानै छैन । उनीहरू भन्छन्, विकासका लागि त स्थिर सरकार चाहिँदो रहेछ । स्थानीय मञ्जु बस्नेतले भनिन्, “पुल नहुँदा धेरै दुख पाइएको थियो ।

बल्ल पुल बन्ने निश्चित भयो अब यही जुनीमा पुल माथिबाट हिँड्ने ठुलो रहर छ ।” शनिवार बिहान लालपैनी खोलामा निर्माण हुने पक्की पुलको शिलान्यास भएपछि यहाँका स्थानीयहरू हर्षित बनेका छन् । रौताहा–आशिशदिप–राज जे।भी। भद्रपुरले भ्याट सहित ५ करोड १४ लाख ७९ हजार ४ सय रुपैयाँमा लालपैनी खोलामा पुल निर्माणको जिम्मा पाएको छ ।

२०७७ साउन ६ गते सम्झौता भएको र २०७९ असार २० गते काम सम्पन्न गर्नुपर्ने निर्माण सम्झौतामा उल्लेख गरिएको पूर्वाधार विकास कार्यालय झापाका इन्जिनियर रमेश कुमार माझीले जानकारी दिए । सो पुलको लम्बाई ४० ददशमलब ८७ मिटरको हुने उनको भनाइ छ ।

सो पुलको शनिवार बिहान प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा मन्त्री कार्कीले बजेट अभावका कारण पुल निर्माणको काम रोकिन नदिने प्रतिबद्धता व्यक्त गरे ।

अहिले विश्व नै कोरोना महामारीको चपेटामा परेका बेला नेपाललाई पनि यसले गाँजेको स्मरण गराउँदै मन्त्री कार्कीले भने, “कोरोना सङ्कटका कारण हामीले विकास निर्माणका केही कामलाई थाती राखेको भए पनि अब तपाईँहरू ढुक्क हुनुस् यो पुल निर्माणका क्रममा म कसै गरे पनि बजेट अभाव हुन दिन्न ।”

धेरै वटा निर्वाचनमा चुनावी नारा बनेको लालपैनी खोलाको पुल बल्ल शिलान्यास हुँदै गर्दा स्थानीयले तोकिएकै समयमा काम सम्पन्न हुनेमा भने शङ्का व्यक्त गरेका छन्