- 15Shares
विराटनगर, मंसीर १०
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा विराटनगरमा चारजनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज विराटनगरमा तीन र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एकजनाको मृत्यु भएको हो ।
नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार धनकुटा नगरपालिका–४ धनकुटाका ८२ वर्षीय वृद्धको बुधबार बिहान मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनलाई ८ मंसिरमा अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै सुनसरीको रामधुनी नगरपालिका–६ का ४० वर्षीय पुरुषकोे राति ११ः४० बजेतिर ज्यान गएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि मंगलबार दिउँसो अस्पताल ल्याइएका उनको पीसीआर परीक्षण गराउँदा साँझ रिपोर्ट पोजिटिभ आएको थियो ।
सुनसरीको धरान उपमहानगरपालिका–७ की ५० वर्षीया महिलाको पनि राति ९ः१५ बजे मृत्यु भएको छ । दाहालका अनुसार महिलालाई कोरोना पुष्टि भएपछि उपचारका लागि मंसिर ६ गते अस्पताल भर्ना गरिएको थियो ।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एकजनाको मृत्यु भएको छ । धनपालथान गाउँपालिका–६ की ७० वर्षीय वृद्धाको मृत्यु भएको हो । २६ कात्तिकमा अस्पताल भर्ना भएकी महिलाको बुधबार बिहान करिब ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।