काेराेनाबाट सशस्त्र प्रहरी निरीक्षककाेे मृत्युु

सेयर गर्नुहोस्
  • 68
    Shares

माेरङ, मंसिर ९:कोरोना संक्रमणका कारण मोरङमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को मृत्यु भएको छ ।

मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा इन्सपेक्टर ३३ वर्षीय नवीन बुढाथोकीको मृत्यु भएको हो ।

अस्पतालको आइसोलेसन प्रमुख सुनिल देवका अनुसार भेन्टिलेटरमा उपचाररत इन्सपेक्टर बुढाथोकीको सोमबार राति ११ः२२ बजे मृत्यु भएको हो । कोरोना संक्रमित बुढाथोकीको पछिल्लो समय फोक्सोले काम नै गर्न छाडिसकेको उनले बताए ।

तेह्रथुमको म्याङ्लुङ् घर भएका उनी मोरङको बूढीगंगास्थित टंकीसिनवारीमा रहेको सशस्त्र प्रहरी वल नेपाल नम्बर ३ गण हेड क्वाटर कंकालिनीमा कार्यरत थिए । उनी गत भदौदेखि त्यहा कार्यरत थिए ।

व्याडमिन्टन खेल्दाखेल्दै एक्कासि श्वासप्रश्वासमा समस्या भएपछि गत कात्तिक २६ गते उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा पीसीआर परीक्षण गराउँदा भोलिपल्ट अर्थात २७ गते रिपोर्ट पोजिटिभ आएको आइसोलेसन प्रमुख देवले जानकारी दिए ।

शवको विराटनगरको परोपकार घाटमा धार्मिक संस्कार अनुसार अन्त्येष्टि गर्ने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । उनी अविवाहित रहेको परिवारले जनाएको छ ।

सशस्त्र प्रहरी वल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले इन्सपेक्टर बुढाथोकीको निधनले सिंगो संगठनलाई क्षति पुगेको बताए ।