प्रदेश प्रयाेगशालाले लिन छाड्याे स्वाब

सेयर गर्नुहोस्
  • 12
    Shares

विराटनगर, कार्तिक ५
प्रदेश १ को जनस्वास्थ्य प्रयोगशाला (ल्याब)ले परीक्षणका लागि नयाँ स्वाब लिन छाडेको छ ।प्राविधिकमा कोरोना भाइरसको संक्रमण देखिएको भनेर स्वाब परिक्षण छाडेकाे हाे ।

चाडपर्व सुरु भएसँगै प्रदेशमा दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेको छ । यस्तो बेला तीन प्राविधिक र एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रयोगशालाले केही दिनका लागिभन्दै नयाँ स्वाब लिन छाडेको हो । प्रदेशमा तीव्र रुपमा कोरोना फैलिइरहेका बेला प्राविधिकमा पनि संक्रमण पुष्टि भएपछि नयाँ स्वाब संकलन र परीक्षण केही दिनका लागि स्थगित गरिएको प्रयोगशाला प्रमुख जयवेन्द्र यादवले बताए ।

परीक्षणमा खटिने प्राविधिकनै संक्रमणको सिकार बनेका कारण कोरोना शंकास्पदको नयाँ स्वाब लिएर परीक्षण गर्नसक्ने अवस्था नभएकाले उनको भनाइ छ । प्रयोगशालामा १३ प्राविधिक कार्यरत छन् । ती मध्ये छ जना अन्यत्रबाट काजमा ल्याइएका हुन् । यादवले केही दिनदेखि बाँकी रहेका छ सय स्वाब परीक्षण गरिसकेपछि मात्रै नयाँ स्वाब संकलनका बारेमा सोच्नसक्ने अवस्था रहेको सुनाए ।

उनका अनुसार प्रदेशका विभिन्न स्थानबाट प्रयोगशालामा दैनिक एक हजार पाँच सयसम्म स्वाब संकलन गरेर परीक्षणका लागि ल्याउने गरिएको छ । प्रयोगशालामा दुईवटा मेसिनबाट स्वाब परीक्षणको काम भइरहेको छ ।

तर प्रयोगशालाले परीक्षणका लागि नयाँ स्वाब लिन नसक्दा थप समस्या देखिने भएको छ । चाडपर्व आगामी वर्ष पनि मनाउन सकिनेभन्दै यादवले अहिले आफू जोगिन सक्नुनै ठूलो कुरा भएको बताए ।

यसैबीच विराटनगर महानगरपालिकाले पनि दसैंको अवधिमा स्वाब संकलन कार्य बन्द गरेको छ । बिहीबारदेखि आगामी कात्तिक १२ गतेसम्म स्वाब संकलन हुन नसक्ने जानकारी सार्वजनिक सूचनामार्फत नै महानगरले दिएको छ ।

महानगरपालिकाका जनस्वास्थ्य संयोजक दिलिपकुमार यादवका अनुसार जैन भवन र मोबाइल भ्यानबाट गरिँदै आएको स्वाब संकलन दसैं भरीलाई बन्द गरिएको हो । महानगरले स्वाब संकलन गरेर परीक्षणका लागि कोसी अस्पतालको प्रयोगशालामा पठाउने गरेको थियो । अस्पतालमा दसैं विदा पर्ने भएकाले स्वाब परीक्षणका लागि पठाउन नसकिने हुँदा संकलननै रोक्नु परेको यादवले बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बडा दसैंको नवमीबाट तीन दिनका लागि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द रहने जनाए । उनले नवमीसम्म यसअघि संकलन गरिए पनि थाँती रहेका स्वाबको परीक्षण हुने जनाए ।

उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेलले कोरोनाको संक्रमण जताततै फैलिएर मुलुक आक्रान्त बनेको अवस्थामा स्वाब संकलन र परीक्षणको काम बन्द गरिनु दुःखद् भएको बताए । प्रयोगशालाले कर्मचारीको अभाव देखाएर नयाँ स्वाब नलिनु र महानगर एवं कोसी अस्पतालले संकलन तथा परीक्षणनै बन्द गर्दा थप समस्या आउने उनको भनाइ छ ।

कोरोना परीक्षण प्रभावित हुँदा रोग पहिचान नभएर सर्वसाधारणले अकालमै ज्यान गुमाउनुपर्ने र अझै संक्रमणको अवस्था भयावह बन्नेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा ढुंगेलको जोड छ । सरकारी तवरबाट परीक्षण बन्द गरिँदा सर्वसाधारणले महँगो शुल्क तिरेर निजी प्रयोगशालामा परीक्षण गराउनुुपर्ने अवस्था आउनसक्ने उनको भनाइ छ ।