प्रदेश १ मा एकैदिन १२ संक्रमितकाे मृत्यु

सेयर गर्नुहोस्
  • 37
    Shares

विराटनगर, कार्तिक ५
प्रदेश १ मा मंगलबार कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । विराटनगरमा ९ जना र धरानमा ३ जनाको मृत्यु भएको हो ।

सोमबार साझदेखि मंगलबार साझसम्म विराटनगरका विभिन्न कोभिड अस्पतालमा उपचार गराइरहेका ७ महिला र २ पुरुषको मृत्यु भएको हो । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ३ जना, विराट नर्सिङ होममा १ जना, न्युरोमा १ जना, विराट मेडिकल कलेजमा १ जना, नोबेल मेडिकल कलेजमा २ जना र मोरङ सहकारी अस्पतालमा १ जनाको मृत्यु भएको छ । यस्तै बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा ३ जनाको मृत्यु भएको छ ।

मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलकी २१ वर्षीया युवतीको मंगलबार बिहान ५ः३० बजेतिर कोशी कोभिड उपचार केन्द्रमा मृत्यु भएको छ । आइतबार कोरोना पोजेपटिभ देखिएकी उनलाई सोही दिन उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

विराटनगर महानगरपालिका–१२ की ६४ वर्षीया वृद्धा महिलाको कोशीमै बिहान ४ः४५ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई सोमबार उपचारका लागि भर्ना गरिएको थियो ।

उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ३८ वर्षीय पुरुषको सोमबार साँझ ६ः३० बजेतिर कोशी कोभिडमै मृत्यु भएको थियो । कोरोना पोजेटिभ देखिएपछि घरमै होम आइसोलेसनमा रहेको उनलाई श्वासप्रश्वासमा समस्या भएपछि सोमबार दिउँसो पुरुषलाई कोभिड अस्पताल ल्याइएको थियो ।

विराटनगरकै न्युरो अस्पतालमा उपचाररत विराटनगर–१० की ६४ वर्षीया वृद्धाको बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिनुभयो । असोज १५ गते कोरोना पुष्टि भएकी उनलाई असोज २४ न्युुरोको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

त्यस्तै विराटनगर महानगरपालिका–७ की ६९ वर्षीया वृद्धा महिलाको नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । उपचारका क्रममा बिहान ८ बजेतिर उनको ज्यान गएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । उनमा असोज २६ गते पीसीआर रिपोर्ट पोजेटिभ आएकोमा शनिबार अस्पताल भर्ना गरिएको थियो ।

मोरङको रंगेली नगरपालिका–३ का ८५ वर्षीय वृद्ध पुरुषको उपचारका विराट नर्सिङ होममा मृत्यु भएको छ । उनकै श्रीमति ८१ वर्षीया वृद्धाको मोरङ सहकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । असोज २८ गते कोरोना संक्रमण भएपछि श्रीमान–श्रीमती दुबैको उपचाररतको क्रममा सोमबार राति १२ बजेतिर मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।

त्यस्तै मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालको आइसोलेसनमा झापाको विर्तामोड ४ की ७६ वर्षीया संक्रमित वृद्ध महिलाको मंगलबार बिहान ८ः५० बजेतिर मृत्यु भएको छ । अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार पुष्टि भएपछि निमोनियाको समस्या रहेकी वृद्धालाई उपचारका लागि असोज ३० गते अस्पतालमा भर्ना गरिएको थियो ।

विराटनगरको कोशी अस्पतालमा सोमबार राति रतुवामाई नगरपालिका–४ का ४० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको भने पिसिआर परीक्षणको रिपोर्ट आइसकेको छैन ।

उता सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा धरान–३ का ७२ वर्षीय, धरान–१७ का ६८ वर्षीय र इटहरी उपमहानगरपालिकाका ५६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार ७२ वर्षीय पुरुषको असोज २९ गते पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएको थियो । कोभिड अस्पतालमा बेड अभाव भएपछि उनी होम आइसोलेसनमा बसेका थिए । श्वासप्रश्वासमा जटिलता देखिएपछि उनलाई कात्तिक ३ गते कोभिड अस्पताल भर्ना गरिएको थियो ।
यसैगरी उच्च रक्तचापको समस्या रहेका धरान–१७ का ६८ वर्षीय पुरुषमा असोज २८ गते कोरोना पोजिटिभ देखिएको थियो । उनलाई कात्तिक ३ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

इटहरीका पुरुषलाई कात्तिक १ गते कोरोना पुष्टि भएपनि अस्पतालमा बेड अभावले होम आइसोलेसनमा बसेका थिए । त्यही क्रममा उनलाई श्वासप्रश्वासमा जटिलता देखिएपछि ३ गते नै भर्ना गरिएको थियो ।

यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–८ का ६५ वर्षीय वृद्ध पुरुषको दिउँसो ३ बजेतिर नोबेलमा मृत्यु भएको छ । फोक्सोको पुरानै समस्या रहेका उनलाई उपचारका लागि २९ असोजमा अस्पताल भर्ना गरिएको अस्पताल प्रबन्धक नारायण दाहालले बताउनुभयो ।

उनमा कात्तिक १ गते रिपोर्ट पोजेटिभ आएपछि थप उपचारका लागि नोबेलकै कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा वृद्ध पुरुषको मृत्यु भएको हो ।