धरान, असोज २६: धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
करिब ७० बर्षका वृद्धको आज बिहान घरमा नै मृत्यु भएको वडा नं १५ का अध्यक्ष नरेश इवारमले जानकारी दिए । उनका अनुसार मृतकको एक साताअघि वीपी प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनी घरमा नै होम आइसोलेसनमा बसेका थिए । यसअघि हिजो राती ११ बजे धरान २ का एक संक्रमितको वीपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको मृत्युबारे प्रतिष्ठानले औपचारिक जानकारी भने आज बिहान मात्र दिएको हो ।
वडाअध्यक्ष इवारमका अनुसार मृतक श्रीमतिसहित बेलायतबाट छोराका बर्खान्तको लागि घर आएका थिए । संक्रमण देखिएपछी उनी घरमै थिइन् । सबै काम सकेर उनी बेलायत फर्कने तयारीमा रहदा संक्रमण देखिएपछि घरमा नै आइसोलेसनमा बसेका थिए । ‘आज बिहानै घरमा नै मृत्यु भएको जानकारी आयो, अहिले सेनाको टोलीले प्रोटोकल अनुसार शव लैजाने तयारीमा छ,’अध्यक्ष इवारमले भने । यस्तै धरानका थप एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा धरान वडा नं २ का ८९ बर्षका वृद्धको मृत्यु भएको हो । सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उनको हिजो राती ११ बजे मृत्यु भएको थियो । उनलाई असोज २३ गते कोभिड पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानमा भर्ना गरिएको थियो ।