युएईमा जारि आईपीएल २०२० अन्तर्गत २५ औं खेलमा चेन्नाई सुपर किंग्सलाई ३७ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरले चौथो जित दर्ता गरेको छ। अघिल्लो खेलमा दिल्लीसंग ५९ रनले पराजित भएको बैंगलोरले उत्कृस्ट कमब्याक जित हाँसिल गरेको हो। दिनको पहिलो खेलमा कोलकाताले पन्जाबलाई २ रनले पराजित गरेको थियो।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा बैंगलोरले दिएको १७० रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईले पुरै ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो।
चेन्नाईको लागि अम्बाती रायडुले सर्वाधिक ४२ रन बनाए जुन क्रममा ४० बलमा ४ चौका प्रहार गरे। डेब्यु गरेका एन जगदिशनले २८ बलमा ४ चौका प्रहार गर्दै ३३ रन बनाए। रायडु र जगदीशनको साझेदारी बाहेक अन्य ब्याट्सम्यानले ठूलो साझेदारी गर्न सकेनन्।
चेन्नाईको सुरुवात राम्रो रहन सकेन जुन क्रममा पावरप्लेको ६ ओभरमा मात्र २६ रन बन्यो भने फफ डु प्लेसी र शेन वाटसन आउट भए। १० बलमा ८ रन बनाएका डु प्लेसीलाई चौथो ओभरमा वासिंगटन सुन्दरले क्याच आउट गराए। छैठौं ओभरमा सुन्दरले दोश्रो विकेट लिने क्रममा १८ बलमा १४ रन बनाएका वाटसनलाई बोल्ड गरे।
तेश्रो विकेटको लागि डेब्यु गरिरहेका एन जगदिशन र अम्बाती रायडुले ६४ रनको साझेदारी गरे। १५ औं ओभरमा जगदिशनलाई क्रिस मोरिसले रन आउट गरे।
१६ औं ओभरमा ६ बलमा १० रन बनाएका धोनीलाई चहलले क्याच आउट गरे। ओभरमा दोश्रो छक्काको लागि गएका धोनी लंगअफमा गुरकिरत सिंहबाट क्याच आउट भए। लगत्तै ओभरमा स्याम करनलाई खाता नखोली क्रिस मोरिसले विकेटकिपर डी भिल्लीयर्सबाट क्याच आउट गराए। उक्त ओभरमा मोरिसले मात्र ३ रन खर्चेर १ विकेट लिए। १८ औं ओभरमा उदानाले रायडुलाई बोल्ड गरे जसपछि बैंगलोर पूर्णत खेलमा हावी बन्यो। समान ७ रन बनाएका रभिन्द्र जडेजा र ड्वेन ब्राभोलाई क्रिस मोरिसले आउट गरे।
अन्तिम ५ ओभरमा चेन्नाईलाई जित्न ७४ रन आवस्यक हुँदा चेन्नाईले ३६ रन मात्र बनाउन सक्यो।
बैंगलोरको बलिंगमा टिमको लागि डेब्यु गरेका पेसर क्रिस मोरिसले सर्वाधिक ३ विकेट ( ४-०-१९-३ ) लिए। यस्तै वासिंगटन सुन्दरले २ विकेट ( ३-०-१६-२ ) तथा इसुरु उदाना ( ४-०-३०-१ ) र युजभेन्द्र चहलले ( ४-०-३५-१ ) समान १ विकेट लिए । नभदिप सैनी विकेटविहिन रहेता पनि ४ ओभरमा मात्र १८ रन खर्चिए।
बैंगलोरको ब्याटिंग : कोहलीको उत्कृस्ट इनिंग
यस अघि टस जितेर पहिले ब्याटिंग गरेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाएको थियो।
बैंगलोरको लागि कप्तान बिराट कोहलीले सर्वाधिक अविजित ९० रन बनाए जुन क्रममा ५२ बलमा ४ चौका र ४ छक्का हिर्काए। लिगमा कोहलीको यो दोश्रो तथा आईपीएल करियरको ३८ औं अर्धशतक हो। यस अघि उनले राजस्थान बिरुद्ध अविजित ७२ रन बनाएका थिए।
यस्तै ओपनर देभदत्त पडीक्कलले ३४ बलमा ३३ रन बनाए भने शिभम दुबेले अविजित २२ रन बनाए जुन क्रममा १४ बलमा २ चौका र १ छक्का प्रहार गरे।
९ बलमा २ रन बनाएका ओपनर आरोन फिन्च तेश्रो ओभरमा दिपक चाहरबाट तेश्रो ओभरमा आउट भएपछि दोश्रो विकेटको लागि अर्का ओपनर देभदत्त पडीक्कल र कप्तान कोहलीले ५३ रनको साझेदारी गरेका थिए। ११ औं ओभरमा पडीक्कललाई शार्दुल ठाकुरले डु प्लेसीबाट क्याच आउट गराए। सोहि ओभरमा एबि डी भिल्लीयर्स खाता नखोली विकेटकिपर धोनीबाट समातिन पुगे। १५ औं ओभरमा १० रन बनाएका वासिंगटन सुन्दरलाई स्याम करनले धोनीबाट क्याच आउट गराए।
पाँचौ विकेटको लागि कोहलीले शिभम दुबेसंग उत्कृस्ट साझेदारी गरे। दुवैले पाँचौ विकेटको लागि ३४ बलमा ७६ रनको साझेदारी गरे। १७ ओभरमा ११७/४ को अवस्थामा बैंगलोरले अन्तिम ३ ओभरमा ५२ रन बनायो। कोहली र दुवे अविजित रहे।
१८ औं ओभरमा स्याम करनको ओभरमा दुबेले एउटा तथा कोहलीले २ वटा छक्का प्रहार गरे जुन ओभरमा करनले २४ रन खर्चिए। १९ औं ओभरमा शार्दुल ठाकुरले १४ रन खर्चिए। अन्तिम ओभरमा ड्वेन ब्राभोले १४ रन खर्चिए।
चेन्नाईको बलिंगमा शार्दुल ठाकुरले सर्वाधिक २ विकेट ( ४-०-४०-२ ) लिए। स्याम करन ( ४-०-४८-१ ) र दिपक चाहर ( ३-०-१०-१ ) ले समान १ विकेट लिए। ड्वेन ब्राभो ( ३-०-२९-० ) कर्ण शर्मा ( ४-०-३४-० ) र रभीन्द्र जडेजा ( २-०-७-० ) विकेट विहिन रहे।
अंकतालिका र आगामी खेल
जितपछि बैंगलोर ४ जित र २ हार पछि ८ अंक बटुल्दै अंकतालिकाको चौथो स्थानमा पुगेको छ। समान ८ अंक रहेता पनि नेट रन रेटमा अघि रहने मुम्बई दोश्रो र कोलकाता तेश्रो स्थानमा रहेको छ। १० अंक सहित दिल्ली शिर्षस्थानमा छ। चेन्नाई ७ खेलमा २ जित र ५ हार पछि ४ अंक सहित छैठौं स्थानमा यथावत रहेको छ।
चेन्नाईले आगामी खेल मंगलबार हैदरावादसंग तथा बैंगलोरले सोमबार कोलकातासंग खेल्ने तालिका रहेको छ।
लिग अन्तर्गत आइतबार पनि २ वटा खेल खेलिनेछन्। पहिलो खेलमा ३:४५ बजे दिउसो हैदरावाद र राजस्थान तथा दोश्रो खेलमा ७:४५ बजे मुम्बई इन्डीएन्स र दिल्ली क्यापिटल्सले प्रतिस्पर्धा गर्नेछन्।