झापा, २४ असोज । मेची प्रादेशिक अस्पताल भद्रपुरमा तीन जना डाक्टरमा शुक्रबार कोरोना संक्रमण देखिएपछि अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ ।
अस्पताल प्रसाशनले कन्ट्रयाक ट्रेसिंगका लागि आइतवारसम्मका लागि ओपिडी सेवा बन्द गरेको मेडिकल सुपरिटेण्डेट डा. पिताम्वर ठाकुरले बताए । अस्पतालमा शुक्रबारको कोरोना भाइरसको पिसीआर परीक्षण पनि स्थगित भएको छ । पिसीआर परीक्षण भने शनिवारबाट खुल्ने सूचना अधिकृत मनोज पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार डाक्टरको सम्पर्कमा रहेका लगभग २० जना स्वास्थ्यकर्मी र कर्मचारी क्वारेन्टिनमा रहेका छन् ।
झापामा शुक्रबार २९ जनामा कोरोना संक्रमण देखिएको छ । ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका चार जना कर्मचारी, चार जना बैंकका कर्मचारी र दुई जना स्वास्थ्यकर्मीसहित शुक्रबार जिल्लाका २९ जना स्थानीयलाई कोरोना संक्रमण पुष्टि भएको हो । जसमा ४ जना महिला र २५ जना पुरुष रहेका छन् ।
भद्रपुरका एक महिला, १२ पुरुष, मेचीनगरका तीन महिला, दुई पुरुष, बिर्तामोडका छ, अर्जुनधाराका दुई, कमल, गौरीगञ्ज र गौरादहका एक–एक जना पुरुष गरि २९ जनाका संक्रमित थपिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए ।
भद्रपुरमा संक्रमण पुष्टि भएका मध्ये दुई जना मोरङ र ईलाम ठेगाना भएका, दुई जना स्वास्थ्यकर्मी, र एक जना बैंकका कर्मचारी रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यस्तै बिर्तामोडमा संक्रमण पुष्टि भएका मध्ये चार जना ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका कर्मचारी, दुई जना बैंकका कर्मचारी र मेचीनगरमा संक्रमण पुष्टि भएका मध्ये एक जना मोरङ ठेगाना भएका बैंकका कर्मचारी रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चम्लागाईले बताए ।
योसँगै झापामा कुल कोरोना संक्रमितको संख्या एक हजार ३२ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या ८ सय ४८ रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ७२ पुगेको छ ।
आजसम्म झापामा २७ हजार ८९८ जनाको पिसिआर परिक्षण भएको छ भने हालसम्म कोरोना संक्रमणबाट ११२जनाको मृत्यु भइसकेको छ । आज दमकका एक ५२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।